काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोपको व्यवस्थापनमा कूटनीतिक माध्यमबाट सक्रियता जारी राखेकी छन् ।
राष्ट्रपति भण्डारीले अमेरिकाका राष्ट्रपति जोन बाइडेन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका राष्ट्रपति रामनाथ कोविन्द र चीनका राष्ट्रपति सी चिनफिङलाई विभिन्न माध्यममार्फत खोप सहयोगका लागि आग्रह गरेकी हुन् ।
गत शुक्रबार रुसका समकक्षी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाउँदै राष्ट्रपति भण्डारीले रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेकी हुन् ।यसैगरी, गत बिहीबार अमेरिकी राष्ट्रपति जोन बाइडेनलाई समेत राष्ट्रपति भण्डारीले अमेरिकी विदेश मन्त्रालयमार्फत खोप सहयोगका लागि पत्र पठाएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।
परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनताको जीवन रक्षाका लागि खोप अनिवार्य विकल्प भएको भन्दै खोप सहयोगका लागि अनुरोध गरिएको ढकालले जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।