गण्डकी प्रदेश

विपत्मा जनतासँग जोडिन ‘विपी विपत् कोष’

गण्डकी । कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिबद्धतासहित कास्की कांग्रेसले ‘विपी विपत् कोष’ निर्माण गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीले विभिन्न आठ चरणमा गरेको छलफलपछि प्राप्त सुझावका आधारमा मङ्गलबार सम्पन्न बैठकले कोष निर्माण गर्ने निर्णय गरेको पार्टीका सभापति कृष्ण केसीले जानकारी दिए ।

पार्टीका सबै क्रियाशील र शुभेच्छुकसँगबाट स्वेच्छिक आर्थिक सहयोग सङ्कलन गरी कोष निर्माण गरिने उनले जानकारी दिए । कोष निर्माणको अभियानमा पार्टीका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक, समर्थक गरी २५ हजारभन्दा बढी परिचालित हुने बताउँदै उनले यसका लागि पार्टीको क्षेत्र, प्रदेश, गाउँपालिका, वडा कार्यसमिति, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहनुभएका सबैलाई जुट्न आह्वान गरिएको बताए ।

नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार कोषको सञ्चालन र व्यवस्थापनका लागि एउटा छुट्टै समिति बनाइने भएको छ । विपत्का बेला कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली कांग्रेस कास्कीले कास्कीका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्र, शुभेच्छुक तथा भ्रातृ संस्था र उद्योग–व्यवसायीसँग छलफल गरेको उनले जानकारी दिए ।