२५ जेठ, काठमाडौँ । निर्वतमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले अन्तर्वार्ताका लागि टेलिफोन कुराकानी गर्ने क्रममा सोमबार कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक अब्दुल्लाह मियाँलाई धम्क्याएका छन् । निबर्तान मन्त्री आले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।
पत्रकार मियाँले अन्तर्वार्ताका लागि आलेलाई टेलिफोन गरेका थिए । त्यसक्रममा आलेले आफूलाई दुर्व्यवहार र धम्की दिएको मियाँले बताए । यस घटनाप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघको कान्तिपुर प्रतिष्ठान शाखाले सोमबार विज्ञप्ति जारी गरेको छ ।
‘कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा कान्तिपुर प्रतिष्ठानका सदस्य अब्दुल्लाह मियाँलाई निवर्तमान वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले अन्तर्वार्ताका लागि टेलिफोन कुराकानी गर्ने क्रममा सोमबार काठमाडौंमा दुर्व्यवहार र धम्क्याएको घटनाप्रति यस शाखाको गम्भीर ध्यानार्कषण भएको छ,’ प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कान्तिपुर प्रतिष्ठानले समाचारका कुनै पनि विषयमा चित्त नबुझेको भएमा वा कुनै गुनासा भएमा त्यसउपर कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै निवर्तमान मन्त्रीजस्तो व्यक्तिले धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य भनेको छ ।
शाखाले घटना संलग्न निर्वतमान माननियलाई कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षित र निर्वाध रुपले काम गर्ने वातावरण बनाउन सरकारलगायत सम्बन्धित निकायसँग माग गरेको छ । कान्तिपुरबाट