बाग्मती

बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवासमा

४ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फर्किएका छन् । मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फर्किएका हुन् । बयालीस महिना सरकार चलाएका थिए ।

बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका पौडेलले बिहीबार सरकारी निवास छाडेका हुन् । उनले अबको बाँकी समय जनताको हितमा काम गर्ने बताए । उनले राजीनामा दिएसँगै प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेका छन् । शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन भएक थिए ।

भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा

गाईजात्रा पर्वका अवसरमा बागमती प्रदेश सरकारले यही भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । प्रदेशमा प्रमुख पर्वका रूपमा मनाइने भएकाले प्रदेशभर सार्वजनिक बिदा घोषणा गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।