समाचार

सर्बाेच्चमा आजपनि तनावः प्रहरी र कानून व्यवसायीबिच घम्साघम्सी

३ मंसिर, काठमाडौं ।  आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच सर्वोच्च अदालत परिसरमा घम्साघम्सी भएको छ । आजनिर्णायक आन्दोलन गर्ने चेतावनी दिएका कानुन व्यवसायी यसअघि धर्नामा बस्दै आएको सर्वोच्च परिसरमा जान खोजेपछि प्रहरीले उनीहरुलाई रोक्न खोज्दा धकेलाधकेल भएको हो ।

यसअघि धर्ना बसिरहेको स्थलमा कानुन व्यवसायी जान खोजेका थिए । तर, प्रहरीले आज उक्त क्षेत्रमा जान रोक लगाएर घेरा हालेको छ । सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीको संख्यासमेत बढाइएको छ । आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने र नियमित रुपमा धर्नामा बसेको स्थानमा जान दिन प्रहरीलाई आन्दोलनकारी कानुन व्यवसायीले आग्रह गरे पनि प्रहरीले उनीहरुलाई रोकिरहेको छ ।

यसअघि बिहीबार आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही कानुन व्यवसायी घाइते भएपछि बार आक्रोसित भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले पनि सर्वोच्च अदालतमा आन्दोलनरत कानुन व्यवसायीमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ । बारले प्रधानन्यायाधीश राणालाई शुक्रबार ३ बजेसम्म राजीनामा दिन ’अल्टिमेटम’ दिएको छन् । राणाले राजीनामा नदिए थप सशक्त कदम चाल्ने पनि श्रेष्ठले चेतावनी दिएका छन् ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् ।