समाचार

महाधिवेशन प्रतिनिधि छनौट गर्दा ख्याल राख्न कांग्रेस नेता गगनको अपील

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले १४ औं महाधिवेशनमा प्रतितिधि छनौट गर्दा ख्याल राख्न सुझाव दिएका छन् ।

नेता थापाले महाधिवेशन प्रतिनिधि पार्टीको सबैभन्दा आधारभूत तहको निर्णायक शक्ति भएको भन्दै क्षेत्रीय प्रतिनिधिहरुलाई यस्तो अपिल गरेका हुन् । आज कांग्रेसले १४८ प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दैछ । अधिवेशनबाट क्षेत्रीय सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले आज एक अपिल जारी गर्दै पार्टी भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न आग्रह समेत गरेका छन् । प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले महाधिवेशन प्रतिनिधि आउँछन् । उनीहरू नै केन्द्रीय महाधिवेशनका मतदाता हुन् ।

उनले पार्टीको पुनर्जागरण र नवनिर्माणका लागि सही निर्णय लिनेमा विश्वाससमेत व्यक्त गरेका छन् । उनले अगाडी भनेका छन्ः आज गर्ने निर्णय र छनोटले नै मंसिर २४ देखि हुने महाधिवेशनमार्फत पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय गर्छ भन्ने ख्याल राख्दै निर्णय गर्नका लागि हार्दिक अपिल गर्दछु ।