समाचार

जबराले पैसा लिएर कुनै फैसला गरेको थाहा पाए तत्काल हामीलाई भन्नुः अध्यक्ष श्रेष्ठ

६ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित नेतालबार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले गरेको फैसलाहरूले विकृति, विसंगति, बिचौलिया र भ्रष्टाचार भइरहेको आरोप लगाएका छन् ।

सर्बोच्चमा बारको जारी धर्नालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो आरोप लगाएका हुन् । साथै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए आफुहरुलाई तत्काल उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह समेत गरेका छन् ।

बारले पनि प्रधानन्यायाधीशले गरेको फैसलाको अध्ययन र संकलन गरिरहेको बताउदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलालाई राखेर जनताको बीचमा पेश गरिने बताएका छन् ।

न्यायालयमा विकृति र विसंगति भइरहेको भन्दै कानून व्यवसायीहरु आन्दोलनमा उत्रिएको दुई हप्ता भइसक्दा समेत राजनीतिक दल कानमा तेल र मुखमा बुझो हालेर बसेको आरोप लगाए ।