आर्थिक

पाटा नेपालले गर्यो “नेपाल-बंगलादेश पर्यटन प्रवर्धन तथा बीटूबी एक्सचेन्ज” कार्यक्रम

मङ्सिर ६ काठमाडौं । पाटा नेपाल च्याप्टरले पाटा बंगलादेश च्याप्टरसँगको सहकार्यमा यही १६ देखि २१ नोभेम्बर २०२१ सम्म “नेपाल–बंगलादेश पर्यटन प्रवर्द्धन र बीटूबी एक्सचेन्ज“ कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ ।

पाटाको नेपाल र बंगलादेश च्याप्टरहरु बीचको यो संयुक्त सहकार्यमा सम्पन्न उक्त कार्यक्रम कोभिड–१९ पश्चातको पर्यटन पुनरुत्थानका लागि आवस्यक पहलको रूपमा दुई छिमेकी राष्ट्रहरू बीचको आन्तरिक र बाह्य पर्यटन लाई आपसी गठबन्धन र सहयोगको माध्यमबाट एकअर्काको गन्तव्यहरू प्रवर्द्धन गर्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

पाटा नेपालले आफ्ना सदस्य र साझेदार संस्थाहरूको सहयोगमा बंगलादेश पर्यटन बोर्डका उप निर्देशक र सचिव, पाटा बंगलादेशका अध्यक्ष र महासचिव, १० टुर अपरेटरहरू, २ संचारकर्मी र पाटा बंगलादेश ढाका युनिभर्सिटी स्टुडेन्ट च्याप्टरका २ विद्यार्थीहरू सहित १७ सदस्यीय बंगलादेशी प्रतिनिधिमण्डललाई नेपाल आमन्त्रण गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत १७ देखि १९ नोभेम्बर २०२१ सम्म बंगलादेशी प्रतिनिधिहरूका लागि आयोजना गरिएको पोखराको परिचयात्मक भ्रमणका क्रममा १८ नोभेम्बर का दिन होटल बाराहीमा पोखरा पर्यटन परिषद् र पर्यटन बोर्ड पोखराको सहकार्यमा ७० भन्दा बढी टुर अपरेटर र सेवा प्रदायकहरुको उत्साहजनक सहभागिता सहित “पर्यटन नेटवर्किङ र अन्तरक्रिया सत्र“ समेत आयोजना गरिएको थियो ।

औपचारिक कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य व्यक्त गर्दै पाटा नेपालका अध्यक्ष विभूति चन्द ठाकुरले पर्यटन पुनरुत्थान कार्ययोजनाका रूपमा तत्काल “क्षेत्रीय यात्रा“ लाई प्रवर्द्धन गर्नुपर्ने कुरामा जोड दिएको र वर्तमान परिपेक्षमा सोही नै पर्यटकहरु र गन्तव्य व्यवस्थापन संस्थाहरू वा सेवा प्रदायकहरूका लागि समेत सबैभन्दा उपयुक्त बाटो भएको औँल्याएका छन् ।

उनले लामो दुरीको यात्रा रिकभर हुन अलि बढी समय लाग्ने भएकाले सडक वा छोटो दुरीको उडानबाट पुग्न सकिने नजिकका गन्तव्यहरुलाई पर्यटन पुनर्सुचारू एवं पुनरुत्थान गर्न बढी अवसर रहेको बताउंदै नेपाल–बंगलादेश १ घण्टाभन्दा कम उडान समयले नजिक भएको अवस्थामा यस सहकार्यमार्फत दुई देशबीचको पारस्परिक आन्तरिक तथा बाह्य पर्यटनको व्यवसायिक सम्भावनालाई सुदृढ गर्न नयाँ मार्गनिर्देशन हुने अपेक्षा रहेको बताएका छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मी र बंगलादेश पर्यटन बोर्डका उप निर्देशक तथा उपसचिव मोहम्मद सैफुल हसन ले आ–आफ्नो गन्तव्यबारे जानकारी तथा नेपाल र बंगलादेशबीचको पर्यटन आदानप्रदानको सम्भावनाबारे विचार एवं प्रश्तुति पेश गरेका थिए । साथै, हिमालय एयरलाइन्सको ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले बंगलादेश लगायत अन्य क्षेत्रहरूमा हिमालय एयरलाइन्सको सञ्चालन योजनाहरूबारे प्रश्तुतिकरण पेश गरेका थिए ।

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै पाटा बङ्गलादेशका अध्यक्ष शहीद हमिदले नेपालको न्यानो आतिथ्यता बाट आफू सारै मोहित एवं प्रभावित भएको र बंगलादेशी यात्रुहरूलाई आकर्षित गर्न नेपालमा धेरै आकर्षक पर्यटन उत्पादन तथा सेवाहरू रहेको बताए । उनले महामारी अघि वार्षिक २६ हजार बंगलादेशीलाई नेपालले स्वागत गर्ने गरेको र यसलाई प्रभावकारी प्रवद्र्धन र मार्केटिङ पहलबाट दोब्बर सहज रुपमा भित्र्याउन सकिने बताए ।

कार्यक्रममा प्रमुख अतिथि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले नेपाल र बंगलादेशका पाटा च्याप्टरले क्षेत्रीय पर्यटन प्रवर्धनका लागि आवश्यक र समयसापेक्ष पहल गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले नेपाल र बंगलादेशमा पर्यटन फस्टाउनका लागि नेपालले आफ्नो सहयोगी मार्केटिङ र प्रवर्द्धनात्मक कार्यक्रमहरू बढाउनपर्ने, ँब्ः यात्राहरू आयोजना गर्नुपर्ने, पूर्वाधारहरु (विशेष गरी सडक जडान) स्तरोन्नति गर्नुपर्ने तथा बंगलादेश र नेपालका पर्यटकहरूका लागि विस्तारित टुर प्याकेजहरू विकास गर्न आवश्यक रहेको बताएका छन् । उनले नेपाल र बंगलादेशबीचको पर्यटन सम्बन्धलाई अभिवृद्धि गर्न पर्यटन मन्त्रालयले सरकारी स्तरमा आवश्यक सहयोग र सहयोग गर्ने आश्वासन समेत दिएका छन् ।

यस कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र बंगलादेश पर्यटन बोर्डले प्रवर्द्धन गरेको थियो भने हिमालय एयरलाइन्स र बुद्ध एयर (एयरलाइन्स पार्टनर्स), पोखरा टुरिजम काउन्सिल (आयोजक साझेदार), द रोयल माउन्टेन ट्राभल (ट्रान्सपोर्टेसन पार्टनर), र हस्पिटालिटी पार्टनर्सको रुपमा द एभरेष्ट होटल, केजीएच ग्रुप अफ होटल्स, अलफ्ट, र्याडिसन, सिद्धार्थ होटल र द ओल्ड इन ले सहयोग गरेका हुन् । बंगलादेश टुरिजम बोर्डले पाटा बंगलादेश च्याप्टरसँग मिलेर दुवै देशबीचको पर्यटन विकासको आपसी सम्भावनालाई थप आदानप्रदान र विस्तार गर्न पाटा नेपाल मार्फत नेपाली समकक्षीहरूलाई चाँडै बंगलादेश भ्रमण गर्न आमन्त्रण गरेको छ ।