७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा गोपीप्रसाद उपाध्यक्ष, निर्वाचन क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह र निर्वाचन क्षेत्र नं ३ मा केशवबहादुर चन्द विजयी भएका छन् ।
आज सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा निर्वाचित उपाध्यायले २६७ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी हरि चन्द ठकुरीले २२९ मत प्राप्त गरे । सचिवमा बिसराम राना र पदमबहादुर रोकाया विजयी भएका छन् । सहसचिव पदमा सुरेन्द्र राना र हर्कबहादुर विष्ट (हार्दिक) विजयी भएका छन् ।
यसैगरी, निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा विजयी भएका सिंहले ३४१ मत ल्याए । उनका प्रतिद्वन्द्वी नवराज जोशीले १५७ मत ल्याएका छन् । क्षेत्रीय सचिवमा गणेशबहादुर विष्ट र थानेश्वरप्रसाद भट्ट विजयी भएका छन् । सहसचिव पदमा काशीराम भाट र रमेशप्रसाद भट्ट विजयी भएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय सभापतिमा केशवबहादुर चन्द विजयी भएका छन्। चन्द प्यालनसहित विजयी भएका हुन् । चन्दले ३३० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत ल्याए । सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट विजयी भएका छन् । सहसचिवमा अर्जुनदत्त भट्ट र खड्कबहादुर बस्नेत विजयी भएका हुन् ।
पार्टीका जिल्ला सभापति बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित
पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पार्टी सभापति हरिप्रसाद बोहरा पराजित भएका छन् । बोहराले २४४ मत ल्याएका छन् ।
पार्टी सभापति बोहरा ११ औँ नम्बरमा परेका छन् । बोहराले महाधिवेशन प्रतिनिधि जितेमा पुनः पार्टी सभापतिका लागि चुनावी मैदानमा ओर्लने चर्चा थियो । महाधिवेशन प्रतिनिधिबाटै पराजित भएपछि पुनः पार्टी सभापति हुने चर्चा त्यसै सेलाएको छ । पूर्व पार्टी सभापति बहादुरसिंह थापाले भने सर्वाधिक ३६६ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्।
त्यस्तै पूर्वसंविधानसभा सदस्य बलदेव बोहरा १९० र पार्टीका पूर्व जिल्ला सचिव भोजराज बोहरा २१३ मत ल्याई पराजित भएका छन् । दश जना खुल्ला महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा १९ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन अधिकृत राजेन्द्रप्रसाद पाण्डेयका अनुसार महाधिवेशन प्रतिनिधिमा विजयी हुनेमा उद्धव बोहरा, चिन्तामणि भट्ट, टीका बैज, दलबहादुर बोहरा, दुर्गाप्रसाद भट्ट, पुष्करराज ओझा, बहादुरसिंह थापा, मीनबहादुर सिंह, लोकबहादुर देउवा र हेमराज ओझा रहेका छन् ।
यसैगरी, नेपाली कांग्रेस कञ्चनपुरका सचिव ईश्वरीप्रसाद जोशी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सम्पन्न मत गणनाअनुसार उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । नेकां केन्द्रीय सदस्य रमेश लेखक निकटको प्यानल बनाउन महत्वपूर्ण भूमिकामा रहेका जोशी जिल्ला सचिवमा मनोनीत हुनुअघि उनका स्वकीय सचिव थिए । जोशीले १५० मत ल्याउँदा १० नम्बरमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित वीरबहादुर सुनारले १७८ मत ल्याएका छन् ।
निर्वाचन क्षेत्र ३ बाट बेलबहादुर राना, यज्ञराज जोशी, प्रकाश थापा, दीपक सिंह, जङ्गबहादुर चन्द, खगेश्वर बोहरा, पदम बोगटी, आसिफ कुँवर, तारणीदत्त चटौत र वीरबहादुर सुनार खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।