बाग्मती

एमाले महाधिवेशनको बन्द सत्र अझै सुरु भएन

११ मंसिर, सौराहा । नेकपा एमालेको १० औं महाधिवेशनको बन्द सत्र अहिलेसम्म शुरु हुन सकेको छैन । आज बिहान ८ः३० बजे नै बन्द सत्र शुरु हुने भनिए पनि अहिलेसम्म बन्द सत्र हुन नसकेको हो ।

उक्त समय सारेर बिहान १०ः३० बजेलाई हुने भनिएको थियो । तर यो समय घर्केर दिउँसोदेखि मात्र शुरु हुने देखिएको छ । ओलीले सर्वसम्मत पदाधिकारी चुन्ने पक्षमा छन् । रावल भने सही व्यवस्थापन नभएसम्म चुनावमै गएर जित हार स्वीकार्न तयार रहेको बताउँदै आएका छन् ।

रावलले अध्यक्ष र घनश्याम भुषाल उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । बिहान ८ः३० देखि उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको थियो । अहिले केन्द्रीय सदस्यका आकांक्षी भने भोट माग्न व्यस्त देखिएका छन् । अन्य पदाधिकारीका लागि पनि आन्तरिक छलफलमा जुटिरहेकाले मुख फोडेर भोट माग्न खोजिरहेका छैनन् ।

हिजोदेखि शुरु भएको महाधिवेशनमा बन्द सत्र शुरु भएपछि उक्त सत्रमा विदेशी पाहुनाहरुले सम्वोधन गर्ने कार्यक्रम छ । तर अहिलेसम्म सत्र शुरु हुन नसक्दा सर्वसम्मतको सपना टाढिएको आशंका गरिएको छ । सर्वसम्मतकै लागि कार्यसमिति सदस्यको संख्या बढाइएको छ । महाधिवेशन भोलिसम्म चल्ने छ ।