बाग्मती

भूकम्पपछि अलपत्र,गुम्बाको सामान नयाँ समितिले बुझ्यो

सिन्धुपाल्चोक १९ मङ्सिर । पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवाको गोरखनाथ लकाङ घ्याङ् (गुम्बा)का सामान अदालतको आदेशपछि स्थानीय सरकारको रोहवरमा नयाँ समितिलाई हस्तान्तरण गरिएको छ ।

गोरखनाथ लकाङ घ्याङ संरक्षण कोष तथा विकास, व्यवस्थापन समितिका पूर्वअध्यक्ष नुर्पु शेर्पाले नयाँ समितिलाई लामो समयसम्म गुम्बाको सामान बुझबुझारथ नगरेपछि जिल्ला अदालतका कर्मचारी तथा स्थानीय उपभोक्ताको उपस्थितिमा वडाध्यक्ष पासाङ लामामार्फत नयाँ समितिलाई शुक्रबार जिम्मा लगाइएको हो ।

पूर्व प्रधानपञ्चसमेत रहेका शेर्पाले पुरानो गुम्बा मनोमानी ढङ्गले भत्काएको नयाँ कार्यसमितिका अध्यक्ष टासी शेर्पाको भनाइ छ । उनि भन्छन्, “शेर्पाले भत्काउन नपर्ने गुम्बा भत्काउनुभयो, यस विषयमा कोही कसैसँग सल्लाह गर्नुभएन । नयाँ गुम्बा बनाउन पनि कहाँबाट कति रकम आयो, कति खर्च भयो, हिसाब किताब देखाइएन ।” विसं २०७०मा निर्माण गरिएको गुम्बा २०७२ को महाँ भूकम्पले भत्काएपछि अलपत्र अवस्थामा पुगेकोे थियो ।

नयाँ समितिले सामान बुझबुझारथ गर्न पटक–पटक ताकेता गर्दा पनि सामान नबुझाएपछि मुद्दा दर्ता गर्नुपरेको समितिका उपाध्यक्ष दावा शेर्पा बताउछन् । उनि भन्छन् “गुम्बाका महत्वपूर्ण सामानहरु फेला परेका छैनन् । विसं १८२३ देखिको गुम्बाका ताम्रपत्र, सनकपत्र, सुनको दियोलगायत सामान भेटिएको छैन ।”पूर्व अध्यक्ष शेर्पा भने सामान बुझ्ने, गुम्बा जिम्मा लिने हैसियतका कोही नभएकाले जिम्मा लाउन नसकेको बताउछन् ।

उनि भन्छन् “अहिलेको समितिको गुम्बामा कसैको केही पनि योगदान छैन । तीन करोडको लागतमा मैले बनाएको हुँ । ताम्रपत्र र सनकपत्र मैसँग छ ।” गुम्बा भत्किएको लामो समयसम्म पनि अलपत्र परेकाले धेरैको आस्थाको केन्द्रको रुपमा रहेको यसलाई सञ्चालन गर्न पनि हस्तक्षेप गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष पासाङ लामाको भनाइ छ ।

उनि भन्छन्, “अढाई सय वर्षअघि स्थापना भएको गुम्बा अलपत्र हुँदा भक्तजन चिन्तित छन् । पुरातात्विक महत्वका सामान पनि कहाँ छ भन्ने थाहा नहुँदा अन्योल भएको छ । अबका दिनमा नयाँसमितिले जिम्मेवारी वहन गरी नयाँ गुम्बा निर्माणमा लाग्ने विश्वास लिएको छु ।” यो तपोभूमि स्थल भएको समितिका उपाध्यक्ष दावा शेर्पा बताउछन् ।

सिक्किम, दार्जिलिङलगायत ठाउँबाट तीन वर्ष, तीन महिना, तीन दिन ध्यान गर्ने गरी यस क्षेत्रमा ध्यान गर्न लामाहरू आउने गरेको पनि उनि उल्लेख गर्छन । अब नयाँ समितिले सहयोग सङ्कलन गरी नयाँ गुम्बा निर्माणमा लाग्ने पनि उनको भनाइ छ ।

यस गुम्बाप्रति आस्थावान् स्थानीयवासी गुम्बाको भग्नावशेष मात्र हेरिरहनु पर्दा पीडा हुने बताउछन् । स्थानीयवासी कामी शेर्पा यस गुम्बाको सम्पत्तिको रुपमा रहेका महत्वपूर्ण लिखत, पुरानो मूर्ति, ढाल, दरबार, लामाको मुकुटलगायत सामान अहिले नरहेको बताउछन् । अब स्थानीयवासी नै अग्रसर भएर गुम्बा निर्माण गरी यस स्थानको प्रतिष्ठा कायम राख्नेमा उनीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।