राजनीति

घिमिरेको गुनासोः देउवाले म माथि दोस्रो पटक पनि राजनीतिक हिँसा गरे

२१ मंसिर, काठमाडौं ।  प्रदेश १ को सभापतिमा पराजित भएका नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले आफूमाथि राजनीतिक हिंसा भएको बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहका उम्मेदवार उद्धव थापासँग दुई मतको अन्तरले पराजित भएका घिमिरेले आफू दोस्रोपटक राजनीतिक हिंसामा परेको बताएका छन् ।

आज काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै घिमिरेले पार्टीको अन्तरिक चुनावमा जित–हार स्वाभाविक भए पनि प्रदेश १ को कांग्रेस चुनावमा राजनीतिक मूल्यमान्यता स्खलन भएको टिप्पणी गरेका छन् । १६ सय ३४ मत गणना हुँदासम्म आफ्नो अग्रता रहेको तर ११५ मत गन्दा दुई भोटले हारेको देखाइएको भन्दै उनले पुनः मतगणना गर्नसमेत माग गरेका छन् । घिमिरे रामचन्द्र पौडेल समुहका उम्मेदवार थिए । त्यसका लागि आफूले प्रदेश निर्वाचन समितिमा निवेदन दिएको तर केन्द्रले आलटाल गरेको उनले गुनासो गरेका छन् ।

यसअघि पनि प्रतिनिधिसभा निर्वाचनमा आफूलाई टिकट नदिएर पार्टी सभापति शेरबहादुर देउवाले राजनीतिक हिंसा गरेको आरोप लगाउँदै यसपाली पनि देउवाले सत्ताको चरम दुरुपयोग गरेको बताएका छन् । उनले पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादर देउवाले आफुमाथि दोस्रो पटक राजनीतिक हिँसा गरेको बताएका छन् ।