राजनीति

महाधिवेशन आउन अब दुई दिनः सभापतिको उम्मेदावर छान्न देउवा र पौडेल पक्षको छुट्टै भेला

२२ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह उम्मेदवार छनोटका लागि छुट्टाछुट्टै छलफलमा बसेको छ । विहान ९ बजेपछि देउवा समूहको बैठक बूढानीलकण्ठमा जारी छ भने वरिष्ठ नेता पौडेल पक्षको बैठक बत्तीसपुतलीमा बसिरहेको छ ।

देउवाले आफू पक्षीय बैठकमा पदाधिकारीका उम्मेदवार र महाधिवेशनको रणनीतिका विषयमा छलफल गरिरहेका छन् । देउवा सभापतिमा दोहोरिने भएकाले उनको पक्षमा पदाधिकारी छनोटका विषयमा छलफल केन्द्रित छ । देउवाले केन्द्रीय सदस्यसँग छलफल गरिरहेका छन् ।

पौडेल पक्षमा भने सभापतिमा साझा उम्मेदवारी चयन गर्नै सकस परेको छ । आफू पक्षीय केन्द्रीय सदस्य, प्रदेश सभापति, प्रदेश सभापतिका प्रत्यासी, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिसँग परामर्श गरी साँझसम्म एकमात्र उम्मेदवार घोषणा गर्ने पौडेल समूहमा छलफलमा छ​ ।

वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाले साझा उम्मेदवार बन्ने अवस्थामा सभापतिको दाबी छोड्ने बताएका छन् भने नेता प्रकाशमान सिंह र शेखर कोइराला आफू बाहेकको हकमा सहमति गर्ने पक्षमा देखिएका छैनन् । काँग्रेसले काठमाडौंको भृकुटीमण्डपमा यही मंसिर २४ गतेदेखि २७ गतेसम्म महाधिवेशन गर्दैछ ।