२२ मङ्सिर सिन्ह्वा । बेलायतमा मङ्गलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ ।
यहाँका स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस विषयमा मङ्गलबार यहाँको मन्त्रिपरिषदको बैठकमा जानकारी गराएका थिए ।
साथै प्रधानमन्त्री जोन्सनले यो समेत गरी बेलायतमा ओमिक्रोनका ४३७ जना सङ्क्रमित भेटिएका जानकारी पनि दिएका थिए । उनले बेलायतका स्वास्थ्य अधिकारीहरुले अनुसन्धानलाई जारी राखेका र अहिलेको प्रारम्भिक तथ्यांकले यो भाइरस यस अघिको डेल्टा भाइरसभन्दा निकै रफ्तारमा फैलिने खालको रहेको आफूलाई जानकारी गराएका बताएका थिए ।
हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट बेलायतमा पनि केही दिनमात्र अघि देखिएको थियो । प्रधानमन्त्री जोन्सनले देशव्यापी रुपमा नागरिकहरुलाई अघिल्लो डेल्टा भन्दा यो भाइरस निकै खतरनाक रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका थिए ।





