राजनीति

रामचन्द्र पौडेल सिटौला निवासमा

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौला निवास पुगेका छन् । गौशालामा आफ्नो समूहबाट एकजना सभापतिको उम्मेदवार छान्ने कार्यक्रममा सहभागी भएका पौडेल केही समयमा लागि भन्दै सिटौला निवास पुगेका हुन् । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा संस्थापन इतरपक्षको सभापति बन्ने अझै टुंगो लागेको छैन ।

यसअघि मंगलबार दिनभर प्रकाशमान सिंहको निवास चाक्सीबारीमा यही विषयमा छलफल गर्न पौडेल समूहका नेताहरु जुटेका थिए । तर, यो छलफलले पनि कुनै टुंगो लगाउन सकेन । यही विषयमा आफूलाई साथ दिन अनुरोध गर्न पौडेल सिटौला निवास पुगेका हुन् । १३ औं महाधिवेशनको सभापतिमा दोस्रो चरणको मतदान हुँदा सभापति शेरबहादुर देउवालाई समर्थन गरेका सिटौलाले अहिलेसम्म खुलेर आफूले कसलाई समर्थन गर्ने बताइसकेका छैनन् । तर, धेरैको अनुमान छ, उनले देउवालाई यो महाधिवेशनमा समर्थन गर्नेछन् ।

त्यसो त प्रदेश–१ अधिवेशनमा सभापतिका उम्मेदवार उद्धव थापालाई पनि सिटौलाले समर्थन गरेका थिए । यसपटक संस्थापनइतरका नेताहरू सिटौलालाई आफ्नो समर्थनमा ल्याउन प्रयासरत छन् ।