साहित्य

नरहरि आचार्यको ‘जीवनको पाठशाला’ पुस्तक सार्वजनिक

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यको जीवनीमा आधारित ‘जीवनको पाठशालाः सम्झना र सम्बन्ध’ नामक पुस्तक बजारमा आएको छ ।

साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा आचार्यको राजनीतिक जीवनका भोगाइ र घटनाक्रमलाई समेटिएको छ । राजनीतिक घटनाक्रम र आफ्ना सम्बन्धलाई आचार्यले आकर्षकरूपमा प्रस्तुत गरेका छन्। उक्त पुस्तकको बिहीबार यहाँ आयोजित एक कार्यक्रममा आचार्य, राजनीतिक विश्लेषक सिके लाल, प्राध्यापक सावित्री मल्ल र कवि शारदा शर्माले संयुक्तरूपमा विमोचन गरे ।

पुस्तकका लेखक आचार्यले आफ्नै जीवनको पाठशालाका रूपमा पुस्तक आएकामा खुसी व्यक्त गरे । उनले पुस्तकमा जीवनको अन्तरङग, भोगाइ, राजनीतिक जीवन र सङ्घर्षलाई उजागर गरेको बताए ।

नेपाली कांग्रेसका नेता आचार्यले मुलुकमा संविधान बनेको पाँच वर्ष बितिसक्दा पनि कसैले जिम्मेवारी नलिएकामा दुःख व्यक्त गरे । उनले प्रदेश पनि भूमिकाविहीन बनेको र सङ्घले आवश्यक कानून बनाउन नसक्नु विडम्बना भएको टिप्पणी गरे । नेता आचार्यले संविधानको कार्यान्वयन गर्दै कांग्रेसले जिम्मेवारी लिएर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए ।

पुस्तकको समीक्षा गर्दै राजनीतिक विश्लेषक सिकेलालले जीवनलाई पाठशालाको रूपमा लिइयो भने सहज हुन्छ, दुःखले धेरै कुरा सिकाउँछ, फर्केर हेर्दा जीवन सहज हुन्छ भन्ने सन्देश पुस्तकले दिएको बताए ।

घटनाको विवरण, काठमाडौँको बाल्यकाल, तनहुँको चुँदी रम्घाको केही पल, मध्यमवर्गीय ब्राह्मण समाजको चित्रण, दरबारसँग नजिक हुन नसकेको र टाढा हुन पनि नसकेको आत्मचिन्तन र मूल्याङ्कन पनि पुस्तकमा झल्किएको उनले बताए ।

प्राध्यापक मल्लले उपन्यास शैलीमा लेखिएको पुस्तकले आचार्यको जीवनसँग जोडिएको आत्मकथाको व्याख्या गरिएको बताए । शारीरिक कठिनाइ र भोगाइलाई पनि पुस्तकले समेटेको र बालकदेखि सक्रिय जीवनसम्मका अवस्थालाई पुस्तकमा अटाइएको बताए । आचार्यकी धर्मपत्नी कवि शारदा शर्माले धेरै प्रकारका अफठ्याराबीच पुस्तक बजारमा आएको र यसले समेटेका विषयवस्तु रोचक र उत्प्रेरक भएको उल्लेख गरे ।

कांग्रेसभित्र गणतन्त्रवादी नेताका रूपमा चिनिनुहुने आचार्य नेपाली राजनीतिमा परिचित नाम हो । उनले सक्रिय राजनीतिमा आउनुपूर्व झण्डै डेढ दशक प्राध्यापन गरेका थिए । नेपालको संविधान जारी हुँदाताका आचार्य कानून, न्याय तथा संसदीय मामिलामन्त्री थिए ।