खेलकुद

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि गैँडाकोट तेक्वान्दो डोजाङलाई

२६ मंसिर, काठमाडौं । राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल गैँडाकोट नगर समितिको आयोजमा गैँडाकोटमा सम्पन्न प्रथम गण्डकी प्रदेशस्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट तेक्वान्दो डोजाङ पहिलो भएको छ । सात स्वर्ण, आठ रजत र पाँच कास्य गरी कूल २० पदकसहित गैँडाकोट तेक्वान्दो डोजाङ पहिलो भएको हो ।

त्यस्तै रुपन्देहीको नवप्रताप तेक्वान्दो डोजाङ छ स्वर्ण, सात रजत र सात कास्य गरी २० पदकसिहत दोस्रो तथा चितवनको बाह्रघरे तेक्वान्दो डोजाङ चार स्वर्ण, सात रजत र तीन कास्य गरी १४ पदकसहित तेस्रो भएको राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल गैँडाकोट नगर समिति अध्यक्ष गोपाल परियारले जानकारी दिएका छन् ।

गैँडाकोटमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म भएको उक्त प्रतियोगितामा चितवनको माडी तेक्वान्दो डोजाङले सन्त्वना स्थान प्राप्त गरेको परियारले बताए । प्रतियोगितामा गण्डकी, बागमती र लुम्बिनी प्रदेशका ११ जिल्लाबाट जम्मा २०० खेलाडी सहभागी थिए ।

छात्र र छात्राहरुको छुट्टाछुट्ट प्रतिस्पर्धा गराइएको प्रतियोगितामा रुपन्देहीका तेक्वान्दो खेलाडी विजय थारू र सञ्जिता गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा विजेता खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट हुने डोजाङलाई ट्रफी प्रदान गरिएको अध्यक्ष परियारले बताए ।

प्रतियोगिताको शनिबार साँझ समापन गर्दै गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले खेलले खेलाडीको स्वास्थ्य र पहिचानमा महत्वपूर्ण सहयोग गर्ने बताए । खेलका कारण खेलाडीमा अनुशासन कायम हुने जनाउँदै विद्यालय तहबाट नै विद्यार्थीलाई खेलकुदमा सहभागी गराउनुपर्ने उनको भनाइ थियो ।