कर्णाली प्रदेश

मुस्ताङमा पर्वतीय पैरवी सम्मेलन हुने

२६ मंसिर, मुस्ताङ । जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको प्रभावबारे जानकारी गराउन आगामी फागुन २९ र ३० गते मुस्ताङ्मा ‘पर्वतीय पैरवी सम्मेलन (माउन्टेन एड्भोकेसी समिट-२०२२)’ गरिने भएको छ । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक–नेपाल), द माउन्टेन फाउण्डेशन नेपाल, खाद्य सुरक्षा तथा जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चलगायतको संयुक्त आयोजनामा जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रले भोग्नुपरेको समस्या र चुनौती, सम्भावना र अवसरका बारेमा सबैको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलन गर्न थालिएको हो ।

जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम र यसले पर्वतीय क्षेत्रमा पारेको प्रत्यक्ष असर र प्रभाव, पर्वतीय र तटीय क्षेत्रबीचको जैविक विविधता र पर्यटन विकासका लागि सम्मेलन आयोजना गर्न थालेको किर्डाक–नेपालका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिएका छन् । उनले पर्वतीय क्षेत्र जलवायु सङ्कटका कारणले उच्च जोखिममा रहेको भन्दै यसबारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराई जोखिम न्यूनीकरण गर्न आवश्यक रहेको बताए ।

केही समय अगाडि हिमाली जिल्ला मुस्ताङ्को टुकुचे हिमालमा हिम पहिरो गएको थियो । बैमौसमी वर्षा, खडेरी, बाढीपहिरोले पर्वतीय क्षेत्रका बासिन्दाको जनजीवन र जीविकोपार्जन प्रभाव पार्नुका साथै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायसमेत नराम्ररी प्रभावित हुँदै भइरहेको राष्ट्रिय योजना आयोगका पूर्व सदस्य मीनबहादुर शाहीले बताएका छन् ।

उनले पर्वतीय र तटीय क्षेत्रबीचको जैविक विविधता, कला संस्कृति र सभ्यता, जनजीवन लगायतको संरक्षण र सम्बद्र्धनका लागि राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा नीति निर्माण तहमा सकारात्मक रुपमा प्रभाव पार्न नागरिक पैरवी र वकालत आवश्यक रहेको बताए । “पर्वतीय क्षेत्रको विकास र संरक्षणका लागि जवाफदेही र उत्तरदायी सुशासन प्रणालीको प्रवद्र्धन गरी प्रभावकारी सेवा प्रवाह गर्न जरुरी छ” शाहीले भने, “यस क्षेत्रले विकास, संरक्षण र सम्वद्र्धनले कुनै निश्चित भूगोल र मानिसको जीविकोपार्जनमा मात्र नभइ समग्र पृथ्वी र प्राणीजगतको दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्दछ ।”