समाचार

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकः हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे

२ पुस,काठमाडौं । सडक विस्तार सुरु भएको छ वर्षमा पनि पूरा नभई जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अलपत्र हुँदा स्थानीयवासी एवं यात्रु धुलोले हैरान भएका छन् । आर्थिक वर्ष २०७५\२०७६ मा सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी यो सडक छ वर्षदेखि अलपत्र छ ।

सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रबिन्दुबाट दायाँबायाँ ११\११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो । सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्काअनुसार विलस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात\सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११\११ मिटर नै विस्तार गर्ने सहमति भएको थियो । यो सहमति भएको दुई वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले काम नसक्दा हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीयवासी समस्यामा परेका हुन् । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका लक्ष्मण खतिवडा विसं २०५६ देखि नै जीर्ण रहेको सडक विस्तार गरेर बनाउन सुरु भएको छ वर्ष पूरा हुँदा पनि काम नसकिँदा समस्या भएको बताउछन् ।

विभिन्न दलका नेताले सडक बनाउँछु भन्दै भाषण गर्ने गरे पनि काम भने नभएको उनको गुनासो छ । सडक किनारको घरमा बस्न नसक्ने भएपछि दैनिक दुई घण्टा पानी हाल्नु खतिवडाजस्ता सयौँको दैनिकी भएको छ । निर्माण व्यवसायीले सडक निर्माण जिम्मा लिने बेलामा गरिने सम्झौतामा वातावरणीय क्षति नगरी काम गर्ने गरे पनि कार्यान्वयन हुँदैन । सडक विभाग, काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाजस्ता सरोकार भएका निकायले पनि यसमा ध्यान दिएका छैनन् । धुलोले घरमै बस्न नसक्ने भएपछि खतिवडामात्र होइन सडक किनारका दर्जनौँ स्थानमा स्थानीयवासी पानी हालिरहेका भेटिन्छन् ।

नगरपालिकाको वडा नं २ नयाँपाटीमा क्लिनिकसहित सामुदायिक स्वास्थ्य केन्द्र चलाइरहनुभएका डा रोशन पोखरेल सडकमा उड्ने धुलोकै कारण दैनिक दर्जनौँ घाँटी दुख्ने, घाँटी खसखसाउने समस्या लिएर आउने गरेको सुनाउछन् । धुलोले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भएपनि समस्या समाधानमा सरोकार भएका निकायले ध्यान दिएका छैनन् । सडक विस्तार आयोजनाका प्रमुख दीपेन्द्र पाण्डे भने केही स्थानीयवासीले पानी हाल्न नदिएको दाबी गर्छन्। पानी हाले काम गर्न दिँदैनौँ भनी केही मानिसले भन्दा समस्या हुने गरेको उनको भनाइ छ । यसअघि विस्तार आयोजना प्रमुख भएर काम गरिसकेका विभागका सूचना अधिकारी गुरुप्रसाद अधिकारी भने कति आयोजनाको सम्झौतामै पानी हाल्ने व्यवस्था उल्लेख गरिएको हुने र कतिमा भने सहमतिका आधारमा काम गर्ने गरिएको बताउछन् ।

संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बस्न पाउने मौलिक हकको व्यवस्था गरिएकाले वातावरण नबिगारी विकास निर्माणका काम गरिनुपर्ने उनको भनाइ छ । धुलोको समस्या छ वर्षअघि नै ठेक्का भएर अलपत्र रहेको जोरपाटी–साँखु सडकमा पनि छ । यो सडकमा पनि निर्माण व्यवसायीले पानी नहाल्दा स्थानीयवासीको स्वास्थ्यमा समस्या भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीकी स्थानीयवासी सुम्निमा पुडासैनी घरअघिको सडकको धुलोले दैनिक घरमै बस्दा पनि घाँटी दुख्ने समस्याले सताएको बताउछन् । धुलोसँगै सवारीको धुवाँले पनि अप्ठ्यारो हुने गरेको उनको दुःखेसो छ ।

स्थानीय सरकार, विस्तार आयोजनालगायत सरोकार भएका निकायलाई समस्याका बारेमा पटकटपक अवगत गराए पनि समाधान नभएको स्थानीयवासीको भनाइ छ । जोरपाटी–साँखु सडकको ठेक्का पनि विसं २०७२ मै भएको हो । यो सडकको धेरै स्थानमा कालोपत्र भइसके पनि केही स्थानमा घरका कारण विस्तार हुन नसक्दा स्थानीयवासी धुलोले पीडित भएका हुन् । सरकारले उपलब्ध सडकमै कालोपत्र गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन ।