अन्तर्राष्ट्रिय

भारतमा बस दुर्घटना हुँदा एक शिशुको मृत्युः ५ जना घाइते

३ पुस, एजेन्सी । नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुक्रबार भएको सो दुर्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका चार महिने शिशुको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते पाँच जना नेपालीको अवस्था सामान्य रहेको छ । बसमा सवार ५६ जनामध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

धनगढीको अछाम होटेलका सञ्चालकको कालिका मष्टाबण्डली र्टुस एण्ड ट्राभल्सबाट टिकट लिएर युपी ०३३० पी १३७५ नम्बरको बस भारतको राजकोट जान लागेका अवस्थामा दुर्घटना परेको जनाइएको छ ।