३ पुस, काठमाडौं । नेकपा एमालेका निवर्तमान उपाध्यक्ष डा.भिम रावलले टीके प्रणाली लोकतन्त्रको मान्यता विपरीत भएको बताएका छन् । अध्यक्षमा केपी शर्मा ओलीसंग पराजीत भएका डा.रावलालाई एमालेले केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएपछि यस्तो प्रतिक्रिया जनाएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त डा.रावलले आफुलाई सोध्दै नसोधी पदको टीका लगाइदिएको भन्दै आपत्ति जनाएका छन् । आफुलाई नेकपा एमालेको केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सञ्चारमाध्यबाट सुनेको भन्दै यो सत्य भए यसमा आफ्नो आपत्ति रहेको बताए ।
उनले यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने बताएका छन् । अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा.रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताएका थिए ।