६ पुस, काठमाडौं । बाँदरझलावासीको माग सम्बोधन हुने भएको छ । बाँदरझला वासीलाई तत्काल लालपुर्जा दिलाउनका लागि निकुञ्जसम्बन्धी कानुन संशोधन गर्न सरकार तयार भएपछि उनिहरुको माग सम्बोधन हुने भएको हो ।
चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा आज बाँदरझुला संघर्ष समिति र सरोकारवालाबीच भएको छलफलमा समस्या सम्बोधन गर्ने सहमति भएको हो । भूमि मन्त्रालय र वन मन्त्रालयले समझदारी गरी ऐन संशोधनको प्रस्ताव पेस गर्ने र पारित गराउने सहमति भएको हो
बाँदरझुलाबाट ४० जनाको टोली अधिकार माग्न आइतबार बिहानै काठमाडौंको माइतीघर मण्डल आएका थिए । राम मन्दिरको विकास र विस्तार भन्दै राज्य संयन्त्रले बजेट छुट्याइरहँदा आफूहरू भने दशकौंदेखि भूमिहीन बस्नुपरेको, निरन्तर निकुञ्ज प्रशासन र वन्यजन्तुको हैरानी खेप्नुपरेको गुनासो सुनाउन उनीहरू राजधानी आएका हुन् ।
माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालका अनुसार तीन बुँदे सहमतिपत्रमा राष्ट्रिय भूमि आयोग र आन्दोलनकारीका प्रतिनिधिले हस्ताक्षर गरेर सार्वजनिक हुँदैछ । यो संगै उनिहरुले आन्दोलन पनि फिर्ता लिने भएका छन् ।





