६ पुस, काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएका छन् । चिट चोर्न रोक्दा कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको बताईएको छ । उनको टाउकोमा सात टाँका लगाउन परेको छ भने पुडासैनीको अहिले मोडल अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिटका प्रत्यक्षदर्शी उपप्राध्यापक जगत नेपालले कक्षा सकेर निस्किँदा आरआरमा एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटेको देखेको बताएका छन् । शिक्षक पुडासैनीलाई कुट्ने परीक्षार्थी कुँवेर जेठारा हुन् । घटनापछि स्नातक तह प्रथम वर्षमा बीएसडल्बुको आजको परीक्षा स्थगित भएको छ । परीक्षा स्थगित गरेर दुबै पक्षबीच छलफल भइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।
यसैबिच विद्यार्थीले शिक्षक कुटेको बिरोधमा क्याम्पसका शिक्षकले पढाई बन्द गर्ने निर्णय गरेका छन् । रत्नराज्यलक्ष्मी क्याम्पस प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक स्थलमा प्राध्यापकहरु नै असुरक्षित हुने अवस्था रहेसम्म र आक्रमणकारीलाई गल्ती अनुसारको कारबाही नभएसम्म अध्यापन नगर्ने जनाएका हुन् । साथै घाईते शिक्षको उपचार गर्न माग समेत गरेका छन् ।