बाग्मती

रुकुमको हिमाल बालगृह बन्द

७ पुस, रुकुम । रुकुमपश्चिम आठबीसकोट नगरपालिका-९ स्थित सस्ने हिमाल बालगृह बन्द भएको छ । पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बालगृह बन्द भएसँगै त्यहाँ रहेका बालबालिकालाई राष्ट्रिय बालअधिकार केन्द्र काठमाडौँमा सारिएको आठबीसकोट नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिएका छन् ।

विसं २०७४ मा अभिभावकविहीन, संरक्षणविहीन र समस्यामा परेका बालबालिकालाई आश्रय दिन बालगृह स्थापना गरिएको थियो । बालगृहमा १४ बालबालिका थिए । पठनपाठनको व्यवस्थासहित काठमाडौँ पठाइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिएका छन् ।

“बालगृहका बालबालिकालाई केही समय एउटा सिकाइ केन्द्रमा राखेका थियौँ”, उनले भने “नगरमा तत्काल थप व्यवस्थापन गर्नसक्ने अवस्था नभएपछि सबै बालबालिकालाई सजिलो हुने गरी पठनपाठनको व्यवस्था मिलाइएको छ ।”