समाचार

दलको चुनावमा उम्मेदवार बन्ने प्राध्यापक र कर्मचारीलाई कारबाही गर्ने त्रिविको चेतावनी

८ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार र प्रतिनिधि नबन्न सचेत गराएको छ । त्रिविले आज सार्वजनिक सूचना प्रकाशित गरी शिक्षक र कर्मचारीले राजनीतिक निर्वाचनमा भाग लिएको प्रमाणित भएमा विभागीय कारबाही अघि बढाउने चेतावनी दिएको हो । आफ्ना शिक्षक र कर्मचारीले राजनीतिक दलको विभिन्न निर्वाचनमा भाग लिएको भन्ने समाचार प्रकाशित भएपछि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

शिक्षक र कर्मचारीले राजनीतिक दलको निर्वाचन, महाधिवेशन तथा विधान अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिनु विश्वविद्यालयको नियम र राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान विपरितको काम भएको त्रिविले उल्लेख गरेको छ । विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६७ मा शिक्षक र कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिई वा नलिई राजनीतिक निर्वाचनमा उम्मेदवारी दिन नहुने उल्लेख छ ।

त्यसैगरी, शिक्षक र कर्मचारीले राष्ट्रिय वा स्थानीयस्तरको कुनै पनि निर्वाचनमा भाग लिन चाहेमा उम्मेदवारीको मनोनयन दाखिला गर्नुभन्दा १५ दिन पहिले नै राजीनामा गर्नुपर्ने उल्लेख छ ।