११ पुस, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो लागेको बताएका छन् । आज नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा महासचिव पोखरेलले विभिन्न कारणले एकता जोगिन नसकेको बताएका हुन् ।
उनले अब वामपन्थी आन्दोलनको समीक्षा गर्नुपर्ने बताएका छन् । अहिलेसम्म वामपन्थी दलहरू अधिकारका मामिलामा राम्रो गरेर अघि बढेको भए पनि त्यसपछि गर्नुपर्ने कार्यमा चुकेको उनको भनाइ थियो ।
अब नेताहरूको अन्तर कलहका आधारमा नीति बनाउन नहुने उनले बताएका छन् । माओवादीको आठौं महाधिवेशन अन्तर्गत जारी उद्घाटन सत्रमा विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य दिने क्रम जारी छ ।
साथै महासचिव पोखरेल मुलुकले क्रान्तिसँगै परिवर्तनको खोजी गरिरहेको बताएका छन् । उनले नेपालमा तीन–तीन वटा क्रान्ति भए पनि त्यसले परिवर्तन ल्याउन नसकेको बताएका छन् । उनले राजनीतिक दलहरूले जनताको मनमा गुज्रिरहेका प्रश्नहरूमाथि गम्भीर भएर चिन्तन गर्नुपर्ने बेला आएको बताएका छन् ।
महासचिव पोखरेलले माओवादी आन्दोलनमा प्रशासनले दमन गर्दा आफूहरू त्यस त्यसको विरुद्धमा अभियानका रहेको स्मरण गर्दै बामपन्थी आन्दोलन सही दिशामा हिंडिरहेको छ भन्ने प्रश्न समेत गरेका छन् ।





