१२ पुस, काठमाडौं । नेकपा एमलेका नेता डा.भीम रावलले एमससीका बारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त डा.रावलले प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अरूले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देखाएको बताएका छन् । आईतबार माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौतामा कहीं राष्ट्रघात नदेखेको र सित्तैमा आएको पैसा किन नलिने भन्ने अभिव्यक्ति दिएका थिए ।
डा.रावलले प्रधानमन्त्रीले यस्तो भन्नु नेपालको हित, स्वाधीनता र अधिकारमा आँच पुग्ने प्रावधानप्रति आँखा चिम्लेर वाह्य शक्तिको नांगो भक्ति भएको टिप्पणी गरेका छन् । मूल सम्झौतासंगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरूपयोग गर्न एमसीसी अन्तर्गत आउने रकमलाई सित्तैमा आएको भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति भएको डा.राववलको भनाई छ ।
डा.रावलले यस्तो कुरा नेपाल सार्वभौम, स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले पनि गर्नै नसक्के समेत बताएका छन् ।