राजनीति

भाई-बहिनीलाई मिलाउन नसक्दा म सभापतिमा पराजित भएँ: डा.कोईराला

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले भाई बहिनी शशांक कोईराला र सुजाता कोईरालाले चिठ्ठीको मर्म नबुझ्दा अहिलेको अवस्था आएको बताएका छन् ।

१४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासंग १ हजार ८५५ भोट  ल्याएर पराजीत भएका डा.कोईरालाले बीपी कोइरालाले बुवा केशव कोइरालालाई पठाएको पत्रको स्मरण गर्दै आफ्नै भाइ-बहिनीले त्यसको मर्म बुझ्न नसकेको बताएका छन् ।

विराटनगरमा आज पत्रकारहरूसँग कुराकानीको क्रममा डा.कोइरालाले शशांक कोइराला र सुजाता कोइरातर्फ ईंगीत गर्दै उनीहरूले उक्त पत्रको मर्म नबुझ्दा अहिलेको स्थिति निर्माण भएको बताएका छन् ।

माधिवेशनमा शेखरको साथ छोडेर भाइ शशांक कोइराला सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको समुहलाई साथ दिएका थिए भने बहिनी सुजाता कोइरालाले अर्का सभापतिका उम्मेदवार प्रकाशमान सिंहको प्यानलबाट उपसभापति लडेकी थिईन् ।

उनले भाई बहिनी र अन्य नेताहरुलाई मिलाउन नसक्दा सभापतिमा हार बेहोरेको समेत बताएका छन् । साथै पार्टीले २० औं नम्बरको मर्यादाक्रममा राखेको विषयमा पत्रकारले सोधेको प्रश्नमा डा.कोईरालाले आफ्नो मर्यादाक्रम कार्यकर्ताहरूले माया गरेर दिएको १ हजार ८५५ भोट भएको बताएका थिए ।