खेलकुद

आर्मीलाई टाइब्रेकरमा हराउँदै मनाङ मस्र्याङ्दी आहा! रारा गोल्डकपको फाइनलमा

१३ माघ, काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दैै मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी २० औँ संस्करणको ‘आहा ! रारा गोल्ड कप’फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलको खेलमा मनाङले विभागीय आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै फाइनलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँगको भेट पक्का गरेको हो । एपिएफले पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई हराएको थियो । नियमित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा मनाङले आर्मीलाई निराश बनायो ।

पेनाल्टी सुटआउटमा मनाङका गोलकिपर अशोक बरालले आर्मीका युद्ध शाहीको प्रहारलाई रोक्दै मनाङलाई उपाधि नजिक पु¥याए । विपक्षीको एक प्रहार रोक्न सफल भएका गोलकिपर बराल म्यान अफ दी म्याचसमेत घोषित हुँदै रु आठ हजार पुरस्कार प्राप्त गरे । टाइब्रेकरमा मनाङका फ्रान्कलिन कुटी टाला, शिव गुरुङ, रुपेश केसी र अफिज ओलावालेले ओलावाले गोल  गरे । मनाङका विश्व अधिकारीको प्रहार पोष्टमा लागेर फर्किदा गोल हुन सकेन ।

आर्मीका लागि कप्तान भरत खवास, जर्जप्रिन्स कार्की र विवेक बस्नेतले गोल गर्न सफल भए । दीपक गुरुङको पेनाल्टी प्रहार गोल पोष्टमा लागेर फर्किएको थियो । पहिलो हाफको नवौँ मिनेटमा मनाङले पाएको पेनाल्टीमा कप्तान विमल राना गोल गर्न असफल हुँदा मनाङले अग्रता लिने मौका खेर फालेको थियो । आर्मीका डिफेण्डर युद्ध शाहीले पेनाल्टी क्षेत्रमा बल क्लियर गर्ने क्रममा बल हातले छुँदा खेलका रेफ्री श्याम दनुवारले मनाङलाई पेनाल्टीको अवसर दिएका थिए । खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । 

खेलपछिको पत्रकार सम्मेलनमा मनाङका प्रशिक्षक फुजा टोपेले पहिलो हाफमा प्राप्त पेनाल्टीको अवसर खेर फाल्दा जितका लागि टाइब्रेकरसम्म सङ्घर्ष गर्नुपरेको बताउनुभयो । विपक्षी टोलीले राम्रो खेलेको भन्दै उनले पेनाल्टी सुटआउटमा आफ्नो टोली भाग्यमानी भएको उल्लेख गरे । आर्मीका प्रशिक्षक राजु तामाङले प्राप्त अवसर सुदपयोग गर्न नसक्नुनै हारको कारण रहेको बताए । टोलीका केही खेलाडी घाइते भएकाले समेत फिनिसिङमा समस्या भएको उनले प्रतिक्रिया दिए । 

यही माघ ६ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल खेल माघ १५ गते सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगिताको विजेताले रु १० लाख एक हजारसहित ट्रफी र मेडल पुरस्कार पाउनेछन् । यसैगरी उपविजेताले रु पाँच लाख एक हजार र मेडल पुरस्कार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने बताइन्छ ।