१५ फागुन, काठमाडौँ । श्री १०८ गायत्रीस्वरूप ब्रह्मचारीद्वारा लिखित ‘गायत्री मञ्जरी’ कृति पुनःप्रकाशनमा आएको छ । प्रा भवानीप्रसाद खतिवडा र परमेश्वर पौडेलले सम्पादन गरेका सो पुस्तक काठमाडौँ महानगरपालिका–३१, मध्यबानेश्वर निवासी बैकुण्ठप्रसाद गौतमले पुनः प्रकाशनमा ल्याएका हुन् । पाँचथर जिल्ला साबिक सुभाङ गापा निवासी जनकलाल उपाध्यायाय रेग्मी तथा श्रीमती यशोदादेवीका सुपुत्र गायत्रीस्वरुप ब्रह्मचारी९पुण्यप्रसाद रेग्मी० विसं १९९० वैशाखमा जन्माएका थिए।
आत्मतत्वलाई बाल्यकालदेखि जान्ने मुख्य मार्ग नै गायत्रीमन्त्र भएकाले उपनयन संस्कारका बेला गुरुले वटुकलाई गायत्री मन्त्र सुनाउने वैदिक परम्परा रहिरआएको छ । तीन भागमा विभाजित १३५ पृष्ठ लामो र रु २५० पर्ने उक्त पुस्तकमा प्रातः, मध्याह्न तथा सन्ध्योपासना र सन्ध्योपासनाको तरिका, गायत्री ध्यान, गायत्री जपको प्रकार, आचमन, अष्टमुद्रा, शान्तिपाठ, प्राणायम, मङ्गलोच्चारण, सङ्कल्प, विभिन्न मन्त्र, रुद्राक्षको महिमालगायत विषयमा चर्चा गरिएको छ ।
पुस्तकका सम्पादक प्रा खतिवडाले सन्ध्योपासना गर्नेलाई त्राण दिने अर्थात् विशेष रक्षा गर्ने र प्राण तथा इन्द्रियहरूको रक्षा गर्ने भएको तथा यो सबै छन्दमा प्रधानता रहेको चर्चा गर्दै ‘आत्मा वै गायत्री’ अर्थात् आत्मा नै गायत्री भएको एवं सम्पूर्ण वेद र उपनिषद्को सार गायत्री मन्त्र नै भएको जनाएका छन् ।
आठ वर्षका उमेरमा उपनयन सकेर लेखकले ‘रुद्री’, ‘वेद’, ‘सप्तशती’(चण्डी) र ‘गीता’ अध्ययन गर्नाका साथै योगानन्द गुरुसँग बसेर मन्त्र जप, ध्यान योग, योगाभ्यास, आसन–साधन, षट्चक्रचिन्तन, मानसिक पूजा, आत्मचिन्तन र योगसाधना गर्ने तरिका सिकेका थिए । अठार वर्षको उमेरका उनले बदरीनारायण तीर्थमा छ महिनासम्म तपस्या गरी पटबन्द भएपछि व्यास गुफामा बसी केही समय तपस्या गरेका थिए। त्यसपछि भारतका चारै धामको यात्रा सकी घरमा आएर बाबुआमाको आशीर्वाद लिएपछि उनले पुनः तीर्थ यात्रामा निस्केर दुई वर्ष छ महिनासम्म गङ्गा किनारस्थित रेवाखण्डमा १२ वर्षसम्म गायत्री पुरश्चरण गरेका थिए। गायत्रीस्वरुप ब्रह्मचारीले पुनः काशीमा बसेर वेदान्त विषयमा आचार्य गर्नाका साथै संस्कृतमा भगवत्समर्चा र विष्णुसमर्चा(पद्यसङ्ग्रह)पनि प्रकाशन गरेका थिए।