१७ फागुन, मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन्। पार्टीको १४औँ महाधिवेशन अन्तर्गत मकवानपुर जिल्ला अधिवेशनबाट निर्वाचित भएका उनलाई निर्वाचन अधिकृत गोपीशर्मा सुवेदीले आज प्रमाणपत्र हस्तान्तरण गरे ।
सोमबार सम्पन्न अधिवेशनमा लामासँग आनन्दराम पराजुली र जयराम लामिछाने चुनावी प्रतिस्पर्धामा थिए । तीनै जनाले ५१ प्रतिशत मत प्राप्त गर्न सफल नभएपछि सबैभन्दा बढी मत ल्याउने उम्मेदवार र निकटतम प्रतिस्पर्धीबीच चुनावी प्रतिस्पर्धा गर्ने कांग्रेसको प्रावधान रहेको छ, तर निकटतम प्रतिस्पर्धी पराजुलीले लामाकै बढी मत आएको भन्दै हार्दिकता देखाएपछि लामा दोस्रो चरणमा निर्विरोध भएका हुन्।
नवनिर्वाचित सभापति लामाले कांग्रेस लोकतान्त्रिक विधि पद्दतिमाथि आधारित पार्टी भएकोले नेतृत्वले सबैलाई समेटेर अघि बढ्ने प्रष्ट पारे। पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले नवनिर्वाचित सभापति लामालाई बधाई ज्ञापन गर्दै आसन्न स्थानीय तह निर्वाचन लक्षित गतिविधि गर्न निर्देशन दिए ।