बाग्मती

भवन संरचनाका लागि जमिन छनोट

१७ फागुन, बागमती । बाग्मती प्रदेश सरकारको प्रादेशिक संरचनाका लागि भवन बनाउन गठित प्रशासनिक भवन जग्गा पहिचान समितिले हेटौँडाको विभिन्न स्थानको १९५ .२७ बिघा जमिन छनोट गरेको छ ।

समितिले बागमती प्रदेशको राजधानी हेटौँडा–१९ लेवटमा  ८० बिघा, हेटौँडा–१६ मा  ५४ बिघा, हेटौँडा–६ चित्रेपानीमा  २० देखि २५ बिघा, हेटौँडा– ९ लामसुरे हाइटमा १५ बिघा, हेटौँडा–१७  डिपोचौर हटियामा १२ बिघा, हेटौँडा– ९ मा हेटौँडा सिमेन्ट उद्योगको रहेको पाँच बिघा, हेटौँडा  भोर्लेमा रहेको २.१३ बिघा र हेटौँडा–१७  हटियाको पश्चिम  डिपोचौरमा २.१४ बिघा जमिन  छनोट भएको  आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले गठन गरेको समितिले प्रदेशको राजधानी  हेटौँडाको विभिन्न आठ स्थानलाई प्रादेशिक संरचना  निमार्णका लागि छनोट गरेर सङ्घीय सरकारलाई स्वीकृतिका लागि सिफारिस गरेको बताइएको छ । केही दिनपहिला समितिको सम्पन्न बैठकले  छनोट गरिएका जमिनको स्वीकृतिका लागि सङ्घीय सरकारलाई सिफरिस गरेको  आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।

प्रदेश सरकारको कतिपय मन्त्रालय र प्रादेशिक संरचनाहरु हालसम्म पनि हेटौँडामा भाडाको घरमा  सञ्चालनमा रहेका छन् भने कतिपय पुराना सरकारी भवनबाट सञ्चालनमा रहेका छन् । त्यसैले प्रदेशका आफ्नो स्थायी भवन संरचना बनाउनका लागि आवश्यक जमिन यकिन गरी सिफारिस गरिएको हो । जमिन छनोट भइसके पनि प्रदेश  मातहतका संरचनाहरु छनोट भएका स्थानहरुमा कहाँ कसरी निर्माण गर्ने  विषयमा निर्णय नभएको बताइएको छ ।

उनले हाल समितिले  जग्गा छनोट मात्रै गरेको र सङ्घीय सरकारले स्वीकृति  गरेपछि  संरचना  निमार्णका प्रक्रिया अगाडि बढ्ने  जानकारी दिए । सङ्घीय सरकारबाट स्वीकृति पाएपछि भवन निमार्णका लागि  डिपिआर तयार हुने र आउँदो आर्थिक वर्षमा मात्र भवन निर्माण सुरु हुने मन्त्री शर्माको भनाइ छ ।

प्रदेश सरकार स्थापनाभएको चार वर्षपछि प्रदेशको भवन संरचनाका लागि जमिन छनोट भएको हो । प्रदेशका सबै संरचना एकै स्थानमा निर्माण गर्न वर्तमान प्रदेश सरकारले विभिन्न आठ स्थानमा जमिन छनोट भएको बताइएको छ ।