स्वास्थ्य

केएमसीले महाशिवरात्रीको अवसरमा पशुपतिमा गर्यो निःशुल्क स्वास्थ्य शिविर

१८ फागुन, काठमाडौं । महाशिवरात्रीको अवसर पारेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले मंगलबार काठमाडौंको पशुपती मन्दिर क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिवरात्रीको अवसरमा आउँने भक्तजनहरुलाई लक्षित गर्दै केएमसीले पाशुपत क्षेत्रमै टेन्ट टाँगेर शिविर सञ्चालन गरेको हो ।

   पशुपति क्षेत्रमा आएका सयौं भक्तजनले शिविरबाट निःशुल्क स्वास्थ्य उपचार सेवा पाएका छन् । भक्तजनहरु ब्रतका लागि खाली पेट भएकाले उनीहरुमा रिगंटा लाग्ने, टाउको दुख्ने र रक्तचापको समस्या बढी पाइएको चिकित्सकहरुले बताएका छन् । दिनभर सञ्चालन भएको शिविरमा ७९३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

   शिविरमा ११६ जनाको रक्त परीक्षण र ९५ जनाको इसीजी पनि गरिएको छ । विरामीहरुको स्वास्थ्य परीक्षण गरेर केएमसीले औषधि पनि निःशुल्क वितरण गरेको छ । स्वास्थ्य परीक्षणका लागि १५ जना डाक्टरहरुको टोली शिविरमा खटिएको थियो ।

   पूर्वी नेपालको प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले गतबर्षदेखि केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । डा.शर्माले अध्यक्षको जिम्मेवारी सम्हालेदेखिनै केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर हजारौं विरामीको निःशुल्क उपचार गरिसकेको छ ।