२१ फागुन, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीे भवन निर्माण भएको छ । सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने सङ्घीय सरकारको योजना अनुसार गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा भवन निर्माण भएको हो ।
प्रदेश प्रहरी कार्यालय मार्फत ठेक्का लिएका निर्माण व्यवसायीले भवन बनाएर हस्तान्तरण गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले जानकारी दिउ । “ निर्माण व्यवसायीले भवनको चावी हस्तान्तरण गरिसकेका छन्”, उनले भने “जनशक्ति व्यवस्थापन गरेर प्रहरी चौकी स्थापना गर्ने तयारीमा छौ ।”
तीन तले भवनमा कार्यालय, ब्यारेक र थुनुवा कक्षका लागि १० कोठा छन् । दुई वटा भान्छा कोठा, शौचालय र स्नानगृह छन् । भवन बनाउन वि.स. २०७७ असोजमा शिवाको–जयलक्ष्मी जे।भी बागलुङले रु। एक करोड ८७ लाख ६२ हजारमा ठेक्का लिएको थियो ।
भवन निर्माणका लागि गाउँपालिकाको पहलमा मौवाफाँटका प्रेमनाथ शर्मा, तारानाथ शर्मा, वीरबहादुर विश्वकर्मा र मिठू खत्रीले निःशुल्क तीन रोपनी जग्गा उपलब्ध गराएका थिए । म्याग्दीमा सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहत १७ वटा चौकी तथा पोष्ट छन् ।
घोरेपानी, घार, भुरुंगङ–तातोपानी, भगवति, पाखापानी, चिमखोला, तिप्ल्याङ, गलेश्वर, कालीपुल, मङ्गलाघाट, रत्नेचौर, सिंगा तातोपानी, बाबियाचौर, दरबाङ र ताकममा प्रहरी इकाइ छन् । जिल्ला प्रहरी कार्यालय, ताकम प्रहरी चौकी, सिमा प्रहरी चौकी भुरुङ तातोपानीको मात्र आफ्नै भवन छन् ।
अन्य प्रहरी युनिट सामुदायिक भवन र भाडाको घरबाट सञ्चालन भएका छन् । पूर्वाधार अभावमा सुरक्षाकर्मीको आवास व्यवस्थापन, प्रशासनिक काम र पक्राउ परेका व्यक्तिलाई राख्न समस्या भएको छ । प्रहरी चौकीको भवन वनाउन जग्गाको अभाव प्रमुख समस्या देखिएको छ ।