२५ फागुन, राँझा । कोहलपुर नगरपालिकाले पक्की घर बनाइदिएपछि त्यहाँका अल्पसङ्ख्यक गन्धर्व तथा विपन्न दलित परिवारमा खुसियाली छाएको छ । कोहलपुरको लोकनगरमा नगरपालिकाले बनाइदिएको घरमा बस्दै आएकी कल्पना गन्धर्वले जीवनभरिको सपना पूरा भएको बताए ।
“ नगरपालिकाले घर बनाइदिएकामा हामी अहिले धेरै खुसी छौं”, उनले भने ,“डुडुवा नालाले घरखेत सबै लगेपछि हाम्रो सम्पति केही थिएन,तर अहिले नगरपालिकाले घर दिएको छ ।”सामूहिक आवास कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकामा रहेका घरबासविहीन अल्पसङ्ख्यक गन्धर्व, वादी तथा विपन्न दलित समुदायको लागि २० घर निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार, सामूहिक आवास कार्यक्रम अन्तर्गत कोहलपुर –११ लोकनगरमा १७ घर गन्धर्व, दुई घर वादी र एक घर एकल अपाटङ्गता दलित महिला गरी २० जनालाई घर हस्तान्तरण गरिएको छ । नगर प्रमुख रावतले अल्पसङ्ख्यक गन्धर्व र विपन्न दलित परिवालाई सधैँको लागि स्थायित्व प्रदान गर्नेगरी आवास हस्तान्तरण गरिएको बताए । गन्धर्व र विपन्न दलित परिवारका लागि आयआर्जनको निम्ति पनि नगरपालिकाले कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको उनको भनाइ छ ।
नगरपालिकाले रु दुई करोडको लगानीमा २० भवन निर्माण गरेर अल्पसङ्ख्यक गन्धर्व र विपन्न दलित परिवालाई हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । शौचालयसहित निर्माण गरिएको यो सामूहिक आवस अन्य पालिकामा भन्दा नमूना काम भएको उनले दाबी गरे ।