स्वास्थ्य

रक्तसञ्चार सेवामा ‘एफरेसिस’ र ‘क्लिया’ प्रविधि


३० फागुन, काठमाण्डौ । रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र सुलभताका लागि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले नयाँ प्रविधि भित्र्याएको छ । नेपालमा पहिलोपटक भित्रिएका ती प्रविधिमा रगत सङ्कलनतर्फ ‘एफरेसिस’ र सङ्क्रमण परीक्षणमा ‘क्लिया’ छन् । नेपालको रक्तसञ्चार सेवालाई थप सुदृढ बनाउन कोसेढुङ्गा ठहरिएका ती दुई नवीनतम् प्रविधिलाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित उक्त केन्द्रले मङ्गलबारदेखि सुरुआत गर्दैछ ।

विभिन्न साझेदारका सहयोगमा  रक्तसञ्चार सेवालाई  विद्युतीय प्रणालीमा रुपान्तरण गर्नसमेत थालनी गरिएको छ । केन्द्रका निर्देशक दिव्यराज पौडेलले भने, “ ‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा ः नेपालको रक्तसञ्चार सेवा’को अवधारणालाई कार्यान्वयन गर्न  यस केन्द्रले  नयाँ प्रविधिमार्फत सेवा सुरु गर्न लागेको हो । यसले नेपालको रक्तसञ्चार सेवाको स्तर वृद्धिमा युगान्तकारी परिवर्तन ल्याउनेछ ।”

दाताका रगतमा हुने प्लाज्मा, रातो कोष, सेतो कोपा र प्लेटलेटजस्ता तत्वलाई छुट््याएर चाहिएको रक्ततत्व रक्तथैलीबाट झिकेर बाँकी तत्व दाताकै शरीरमा फर्काउने प्रविधिलाई नै ‘एफरेसिस’ भनिन्छ  ।  यसैगरी अत्याधुनिक परीक्षण प्रविधिमा ‘क्लिया’ विश्वकै उच्च खालको  नवीनतम् प्रविधि हो । तीनसयदेखि ४५० मिलिलिटर पूर्ण रगत (ध्जयभि दयियम) दान भइरहेकामा एफेरेसिस प्रविधिले खासगरी प्लेटलेट र प्लाज्मा चाहिएमा ती तत्व मात्रै दान गर्न र प्राप्त गर्न सकिन्छ । यस प्रविधिबाट दान गर्दा दाताले अर्को पटक दान गर्न तीन महिना पनि कुर्नु  नपर्ने जनाइएको छ । 
 “एफरेसिस प्रविधिबाट एक÷एक महिना वा अत्यावश्यक परेको बेला त्योभन्दा कम अन्तरमा पनि दान गर्न सकिने भएकाले दाता उपलब्ध गराउन सघाउ पु¥याउँछ  । रगत आवश्यक परेको बिरामीलाई जुन तत्व चाहिएको हो, त्यो मात्रै दिँदा बढी प्रभावकारी हुन्छ । क्यान्सर पीडित र प्लेटलेट कम हुने रक्त समस्या भएकालाई यसले सहज बनाउनेछ । छ देखि आठ युनिट पूर्ण रगत चढाउनुपर्नेलाई एफरेसिस एक युनिट प्लेटलेट मात्रै चढाए पुग्छ ।” 


रगत सङ्कलन शिविर अथवा रक्तसञ्चार केन्द्रमा सङ्कलन भएको रगत बिरामीलाई दिनुपूर्व अनिवार्य विभिन्न जीवाणु परीक्षण गरिनुपर्छ । केन्द्रीय रक्तसञ्चार सेवामा ¥यापिड वा इलाइजा प्रविधिबाट हुने गरेको ह्युमन इमिनु डिफिसेन्सी भाइरस, हेपाटाइटिस बी र सी भाइरसका साथै ट्रिपोनियमा प्लाडियम परीक्षण मङ्गलबारदेखि क्लिया प्रविधिबाट हुने जनाइएको छ । 

“यसबाट परीक्षणको गुणस्तर बढ्ने र बिरामीलाई अझै सुरक्षित रगत प्राप्त हुनेछ । बिरामीको सुरक्षा पहिलो प्राथमिकता हो,” निर्देशक पौडेलले भने ।

उक्त केन्द्र र  स्वास्थ्य मन्त्रालयले रगतको शुल्क समायोजनका लागि गृहकार्य गरिरहेको छ । यसको निर्णय नआएसम्मका लागि सो प्रविधिबाट तयार हुने रगत वा रक्ततत्वको ‘क्रसम्याच’ बाहेक प्रतियुनिट एक हजार १०० परीक्षण शुल्क कायम गरिएको जनाइएको छ ।  यसैगरी रक्तसञ्चार सेवामा प्रविधिमैत्री व्यवस्थापन कार्यान्वयनमा ल्याइएको छ । उनले भने, “रगतको उपलब्धता तथा प्रतिवेदनमा विद्युतीय प्रणाली प्रयोगका लागि क्षमता अभिवृद्धि कार्यक्रम आजदेखि  सुरु गरिएको छ ।” 

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ  (आइएफआरसी) तथा लाइफ बैंकको प्राविधिक सहयोगमा रक्तदान शिविरदेखि वितरणको प्रणालीसम्म विद्युतीय प्रणाली अवलम्बन गरिने निर्देशक पौडेलले जानकारी दिए  । यसबाट अस्पताल, दाता र बिरामीले सहजै रगतको मौज्दातबारे जानकारी पाउने छन् ।  केन्द्रमा रगत लिन आउने बिरामीका आफन्तले सहजै ‘डिस्प्ले’मार्फत सूचना  तथा अन्य जानकारी पाउनेछन् ।  अगामी वैशाखसम्ममा यसको तयारी पूरा हुने जनाइएको छ ।