गण्डकी प्रदेश

स्याङ्जाका दुई नगर उत्कृष्ट


३० फागुन, वालिङ । स्याङ्जाका दुई नगरपालिका उत्कृष्ट घोषित भएका छन् । नेपाल नगरपालिका सङ्घको २९औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा स्याङ्जाका दुईसहित सात नगरपालिकालाई पुरस्कृत गरिएको छ ।

नगरपालिका सङ्घले विभिन्न सूचकलाई आधार मानेर गरेको मूल्याङ्कनका आधारमा वालिङ र पुतलीबजार नगरपालिकालाई आर्थिक वर्ष २०७७/७८ मा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उल्लेख्य कार्य गरेकाले ‘उत्कृष्ट नगरपालिका पुरस्कार २०७८’बाट पुरस्कृत गरिएको हो ।

वालिङ नगरपालिका उत्कृष्ट घोषित भएसँगै नगर प्रमुख दिलीपप्रताप खाँणले आगामी दिनमा काम गर्नका लागि थप ऊर्जा तथा प्रेरणा मिलेको बताए ।

वालिङ नगरपालिका पुरस्कृत हुँदै गर्दा यहाँका नागरिकको सहयोगी भूमिका महत्वपूर्ण रहेको नगर प्रमुख खाँणको भनाइ छ । गतवर्ष पनि नेपाल नगरपालिका सङ्घको २८औँ वार्षिकोत्सवका अवसरमा वालिङ नगरपालिलाई सहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा देशकै उत्कृष्ट नगर घोषित भएको थियो ।

त्यस्तै नेपाल नगरपालिका सङ्घकै २३औँ स्थापना दिवसका अवसरमा २१७ नगरपालिकामध्ये वालिङ नगरपालिका सर्वोत्कृष्ट भई पुरस्कारसमेत प्राप्त गरिसकेको छ । नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह, सहरी योजना, सुशासन, फोहरमैला व्यवस्थापन लगायतका विषयवस्तुलाई मूल्याङ्कन गर्दै वालिङ सर्वोत्कृष्ट बन्न सफल भएको थियो ।

यसअघि सङ्घीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा देशभरका पालिकामध्ये सर्वोत्कृष्ट सफा नगरका रुपमा वालिङलाई पुरस्कृत गरेको थियो । सहरी योजना, विपद् व्यवस्थापनमा धादिङको नीलकण्ठ नगरपालिका, वातावरण तथा उत्थानशीलतामा इलामको इलाम नगरपालिका, स्थानीय आर्थिक विकासमा सर्लाहीको हरिवन नगरपालिका, सामाजिक विकासमा रुपन्देहीको तिलोत्तममा नगरपालिका र चितवनको राप्ती नगरपालिका गरी पाँच विधामा सात नगरपालिकालाई उत्कृष्ट घोषित गरिएको नेपाल नगरपालिका सङ्घले जनाएको छ ।