गण्डकी प्रदेश

आगलागी पीडितलाई सहयोग

१ चैत, दमौली । व्यास नगरपालिका–४ मा गत फागुन २२ गते भएको आगलागीबाट पीडित भएकालाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । तेह्रथुम घर भई हाल अमेरिकामा रहेका हेम थापाले आगलागीबाट घर जलेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यस्वरुप रु ५० हजार पठाएका हुन ।

भूपाल हार्डवेयरबाट सुरु भएको आगलागीका कारण हार्डवेयर आसपास रहेका घरमा क्षति पुगेको थियो । घरमा क्षति पुगेका व्यक्तिलाई केही सहयोग होस् भन्ने उद्देश्यले हेम एण्ड माया फाउण्डेशनमार्फत उक्त सहयोग गरेको उनले बताए । “आगलागीबाट पीडित भएकालाई सबैले सहयोग गर्नुपर्छ, मैले गरेको सहयोगले अरुलाई पनि उत्प्रेरणा मिल्ने विश्वास लिएको छु”, उनले भने ।

उनले नेपाली कांग्रेस तनहुँका जिल्ला सचिव लक्ष्मीभक्त खनालमार्फत उक्त सहयोग गरेका हुन । सचिव खनालले व्यास –४ का वडाध्यक्ष विश्वराज न्यौपानेलाई सोमबार उक्त रकम हस्तान्तरण गरेका छन । सो क्रममा खनालले आगलागीका कारण घर जलेका व्यक्तिलाई वडा कार्यालयले समन्वय गरेर रकम हस्तान्तरण गर्न आग्रह गरे ।

वडाध्यक्ष न्यौपानेले हार्डवेयरले बीमा गरे पनि व्यक्तिगत घरको बीमा नभएकाले उनीहरुलाई थप क्षति भएको जनाउँदै सहयोग रकमप्रति आभार व्यक्त गरे । हेम थापा र उनकी श्रीमती माया थापाले आफ्नै कमाइबाट हेम एण्ड माया फाउण्डेशन संस्था सञ्चालन गरी हाल २१ असहाय विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउँदै आएका छन । उक्त फाउण्डेशनमार्फत देशका विभिन्न ठाउँमा असहाय, पीडितलाई सहयोग गर्दै आएको बताइएको छ । आगलागीबाट भूपाल हार्डवेयर, ज्योति सप्लायर्सका साथै क्या बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दीपक श्रेष्ठको घरमा क्षति पुगेको छ ।