गण्डकी प्रदेश

रेडक्रसले एम्बुलेन्स खरिद गर्ने


५ चैत, दमौली । तनहुँको घिरिङ गाउँपालिकास्थित रेडक्रस सोसाइटी भगवतीपुर उपशाखाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । ग्रामीण भेगका सर्वसाधारणलाई सेवा दिने उद्देश्यसहित उपशाखाले एम्बुलेन्स सञ्चालन गर्न लागेको हो । उपशाखाले एम्बुलेन्स खरिदका लागिस्थापना गरेको कोषमा रु ४० लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म रु एक लाख २१ हजार ३१६ सङ्कलन भएकोे सभापति मीनबहादुर कार्कीले जानकारी दिए । उपशाखाका पदाधिकारीबाट उक्त रकम सङ्कलन भएको उनले बताए ।

“यस भेगमा एम्बुलेन्स नहुँदा सर्वसाधारणले सास्ती बेहोर्दै आएका छन्, बिरामी भएका बखत स्वास्थ्य संस्थासम्म जान निजी सवारी साधनमा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता छ,” उनले भने । एम्बुलेन्स खरिदका लागि गाउँपालिकासँग पनि आर्थिक सहयोग माग गरिएको छ । गाउँपालिकाका अध्यक्ष रनबहादुर रानालाई भेटी रु १० लाख उपलब्ध गराउन आग्रह गरिएको सभापति कार्कीले बताए । उपशाखाले कोषाध्यक्ष हेमबहादुर थापाको संयोजकत्वमा रकम सङ्कलनका लागि समिति गठन गरेको छ । “सेवाको क्षेत्र वृद्धि गरी आजीवन सदस्य थप गर्न र रकम सङ्कलन अभियानलाई पनि तीव्रता दिएका छौँ,” उनले भने । 

रेडक्रसका विभिन्न उपशाखाले एम्बुलेन्स सञ्चालन गर्न थालेका छन् । यसअघि व्यास नगरपालिका–१० दुम्सीकोट उपशाखाले पनि जनस्तरबाट रकम सङ्कलन गरी एम्बुलेन्स सञ्चालनमा ल्याइसकेकोे छ ।

विसं २०७७ भदौ १९ गतेदेखि थालिएको अभियानमार्फत रु २९ लाख १४ हजार २१९ सङ्कलन भएकामा रु १३ लाखको लागतमा एम्बुलेन्स खरिद गरिएको दुम्सी उपशाखाका सभापति रामदत्त पौडेलले जानकारी दिए । “बिरामी परेको अवस्थामा एम्बुलेन्स नपाइने, महङ्गो शुल्क तिरेर गाडी रिजर्भ गरेर अस्पतालसम्म जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएका हौँ,” उनले भने, “यो अभियानले सबै वडावासीलाई सहज भएको छ ।”