११ चैत, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सीमान्तकृत एवं लोपोन्मुख वनकरियाको बसोबासको जिम्मा प्रदेश सरकारले लिने बताएका छन । मकवानपुरको मनहरि गाउँपालिकामा रहेको वनकरिया बस्तीमा पुगेर उनले वनकरियाको समस्या समाधान गर्नेमा प्रदेश सरकार गम्भीर रहेको बताए ।
मुख्यमन्त्री पाण्डेले पर्सा वन्यजन्तु आरक्षको क्षेत्राधिकारभित्र रहेको वनको क्षेत्रमा बसोबास गर्दै आइरहेको उक्त बस्तीलाई प्रदेश सरकारले शिक्षा र स्वास्थ्यको पूर्वाधार निर्माणसहितको बस्ती बनाएर स्थानान्तरण गर्ने आश्वासन दिए ।
उनले वनकरिया बस्ती नजिकै रहेको विपन्न चेपाङ बस्तीसहित बस्ती स्थानान्तरण गरिने बताए । आफ्नो समस्या सम्बन्धित निकायमा भन्नलाई समेत शिक्षाको आवश्यकता पर्ने जनाउँदै आफ्ना छोराछोरीलाई नियमित विद्यालय पठाउन अनुरोध गरे ।
वनकरिया समुदायकी मुखिया सन्तमाया वनकरियाले आफूहरूको मुख्य समस्या भनेको जग्गाको रहेको बताए । उनले शिक्षा र स्वास्थ्यमा पनि ध्यान दिन मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।
मनहरि गाउँपालिका उपाध्यक्ष मनिला विष्टले वनकरिया समुदायका लागि पालिकाले प्राविधिक शिक्षामा छात्रवृत्ति र निःशुल्क स्वास्थ्य बीमा गरिदिने जानकारी गराए ।