राजनीति

मन्त्री कार्कीको गृहजिल्लाबासीलाई आह्वानः एमसिसी देशको हितमा छ, भ्रमका पछि नलाग्नस्

१४ चैत, इनरुवा । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको विकास गर्न पुँजी निर्माणमा सरकार केन्द्रित भएको बताएका छन् ।

सुनसरीको कोसी गाउँपालिका–७ हरिपुरमा आज आयोजित कार्यक्रममा मन्त्री कार्कीले देशको विकास तथा समृद्धिका लागि पुँजी निर्माणमा सरकार लागिपरेको र त्यसैअनुरुप एमसिसी परियोजना सङ्घीय संसद्बाट पारित भएको उल्लेख गरे । एमसिसी परियोजनाले देशको विकास र आर्थिक समृद्धिमा योगदान गर्ने भएकाले संसद्बाट पास गरेको उनको भनाइ थियो । एमसिसी देश र राष्ट्रको हितमा रहेकाले कुनै पनि भ्रमका पछि नलाग्न मन्त्री कार्कीले सबैलाई आग्रह गरे ।

उच्च शिक्षा अध्ययनका लागि मन्त्री कार्कीको सहयोग  

मन्त्री कार्कीले आईतबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका दुई विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग रकम हस्तान्तरण गरेका छन् । 

भोक्राहा नरसिंह गाउँपालिका–१ मा आयोजित कार्यक्रममा उनले स्थानीय शङ्कर उराव र दानिस अन्सारीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग रकम हस्तान्तरण गरेका हुन् । मन्त्री कार्कीले आफ्नो तलब भत्ताबाट आएको रु ६० हजार उरावलाई र रु ५० हजार अन्सारीको परिवारलाई हस्तान्तरण गरेका हुन् । रकम अभावका कारण उच्च शिक्षा अध्ययन गर्न समस्या भएको थाहा पाएपछि उनले सो रकम हस्तान्तरण गरेका हुन् ।