१४ चैत, रामपुर । पाल्पाको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश खड्कबहादुर केसीलाई नियुक्त गरिएको छ । पाल्पा जिल्ला अदालतका न्यायाधीश केसी तानसेन नगरपालिकामा रहनेछन । रामपुर नगरपालिकाको निर्वाचन अधिकृतमा श्यामप्रसाद श्रेष्ठ, निस्दी गाउँपालिकामा दुर्गाप्रसाद बस्याल, पूर्वखोलामा मधु अर्याललाई खटाइने भएको छ । रम्भामा कृष्णप्रसाद भण्डारी, माथागढीमा मिना अर्याल, बगनासकालीमा रवि न्यौपाने, रिब्दीकोटमा टिकाराम अर्याल, रैनादेवी छहरामा टोलराज उपाध्याय र तिनाउमा जनार्दन अधिकारीलाई खटाउने निर्वाचन आयोगले जनाएको छ ।
आगामी चैत २९ देखि जिम्मेवारी लागू हुनेगरी नियुक्त गरिएको आयोगले जनाएको छ । नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरणका लागि ३० चैत गते विराटनगर, धुलिखेल, पोखरा, नेपालगञ्ज तथा वैशाख २ मा जनकपुर, हेटौडा, वुटवल र धनगढीमा तालिम कार्यक्रम तय गरिएको छ ।
निर्वाचन कार्यक्रम अनुरुप उम्मेद्वारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी रहने बताइएको छ ।