विचार/ब्लग

यस कारण कम्युनिष्टलाई हालिन्न भोट

मनिता घिमिरे/नेपाली कांग्रेसकाको इतिहासमा मात्रै होइन वर्तमान सभापति शेरबहादुर देउवाको राजनीतिक भविष्यको जग निर्माणमा चितवन जिल्लाको विशेष महत्व छ । २००७ सालको जनक्रान्तिमा नेपाली कांग्रेसको मुख्य आधार इलाका हो चितवन । चितवनलाई आधार बनाएर नेपाली कांग्रेसले अहिलेको बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी जिल्लामा कब्जा जमाएको थियो । २००७ सालको क्रान्ति सम्पन्न भइसके पछि जननेता वीपी कोइरालाले चितवनका गुल्जार बस्ती बसाउने सोच निर्माण गर्नुभयो । संयुक्त राज्य अमेरिका तथा इज्राइल सँग आँफैले लविङ गरी वीपी कोइरालाले तराई तथा पहाडका बेसी क्षेत्रमा औलो उन्मुलन अभियान सुरु गर्नुभयो । औलो उन्मुलनपछि चितवनमा बस्ती बसाउन नेपाली कांग्रेसले पहाडबाट थुप्रै मान्छे ओसारेको उदाहरण छ । फलस्वरुप २०१३ सालमा नेपाली कांग्रेसको अगुवाईमा चितवनको बखानपुरमा समाजवादी कार्यक्रमको नमुना सुरु गरिएको थियो । त्यो नुमनालाई अहिले सहकारीका नामले चिने गरिएको छ ।
२०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका उमेद्वारहरुले सबै भन्दा फराकिलो मत अन्तरले चुनाव जितेको ठाउँ पनि चितवन नै हो । २०१७ सालको कु पछि नेपाली कांग्रेसका नेता सुवर्णशमशेर राणाको नेतृत्वमा सशस्त्र क्रान्ति सुरु भयो । त्यो क्रान्तिमा पनि चितवन जिल्लालाई आधार इलाका बनाइयो । त्यतिबेला करिव ३ महिनासम्म चितवन क्षेत्र नेपाली कांग्रेसको कब्जामा थियो । पछि तत्कालिन राजा महेन्द्रका मुख्य अनुचरहरु शेरबहादुर मल्ल, शान्तकुमार मल्ल लगायतले कपटपूर्ण षड्यन्त्र गरी चितवनमा कांग्रेसका करिव ५ दर्जन नेता तथा कार्यकर्ताहरुलाई मारेका थिए । नेपाली कांग्रेसका सबै भन्दा धेरै नेताहरु मारिएको भूमि पनि चितवन नै हो । त्यसो त नेपाली कांग्रेसले त्यसको बदला २०२८ सालमा चितवनमा मज्जाले लिएको थियो ।
त्यसैगरी नेपाली कांग्रेसको मुख्य भ्रातृ संस्था नेविसंघको स्थापना जेल भित्रै भयो । तर दोस्रो अधिबेशन जेलभित्र संभव थिएन । विदेशमा गर्ने कुरा भएन । कांग्रेसका नेताहरुले चितवनलाई नै रोजे । चितवन बाहेक अन्यत्र संभव थिएन । २०२९ सालमा चितवनमा सम्पन्न नेवि संघको दोस्रो महाधिबशेनबाट शेरबहादुर देउवा सर्वसम्मत अध्यक्ष बन्नु भयो । त्यसबेला देखि देउवाको उचाई लगातार चुपलिएको छ । पाँच पटक मुलुकको प्रधानमन्त्री र करिव चार कार्यकाल नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति बन्ने अवशर देउवाले पाउनुको पछाडि मुख्य जग भनेकै चितवनमा सम्पन्न नेवि संघको दोस्रो महाधिबशेन हो ।
२०३७ सालको जनमत संग्रहमा निर्दलीय पंचायती व्यवस्थाको पक्षमा चितवनबाट जम्मा २२ प्रतिशत भोट खसेको थियो भने बहुदलको पक्षमा करिव ७५ प्रतिशत भोट खसेको थियो । तर २०४६ सालको परिवर्तन पछि नेपाली कांग्रेसले चितवनको ऐतिहासिक महत्व वुझेन । चितथवन जिल्लाबाट राष्ट्रिय राजनीतिमा प्रभाव पार्नसक्ने युवालाई कांग्रेस भित्र निस्तेज गरियो । फलस्वरुप चितवनमा कांग्रेसको पकड खस्कँदै गयो । यति हुँदा हुँदै पनि २०४९ सालमा सम्पन्न स्थानीय निर्वाचन , २०५१ साल र २०५६ सालमा सम्पन्न आमनिर्वाचनमा नेपाली कांग्रेसले चितवनमा सानदार बहुमतका साथ चुनाव जितेको थियो ।
तर २०६४ सालमा माओवादीले कव्जा गरेका कारण कांग्रेसले चितवनमा मात्रै होइन सारा ठाउँमा हा¥यो । २०७० सालमा भने नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई चितवनले बोलाएर चुनाव जितायो , सुशील कोइराला प्रधानमन्त्री बन्नु भयो । नेपाली कांग्रेसका लागि सबै भन्दा सुरक्षित निर्वाचन क्षेत्र ठानेर नै सुशील कोइराला चितवनमा चुनाव लड्नु भएको थियो, त्यतिबेला । चितवनकै हैसियतको नवलपरासीबाट अर्का नेता डा। शशांक कोइरालाले सँधै चुनाव जित्दै आउनु भएको छ ।

नेपाली कांग्रेसको ऐतिहासिक किल्ला चितवनलाई माओवादीको हातमा सुम्पेर आँफू प्रधानमन्त्री बन्ने लोभ गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका सभापति देउवामा जाग्नु कांग्रेसजनका लागि ज्यादै नै अप्रिय कुरा थियो । तै पनि त्यतिबेला मन अमिलो बनाई बनाई चितवनका कांग्रेसजनले माओवादीलाई भोट हाले । कतै यस पटक पनि सभापति देउवाले त्यही गल्ती त गर्नु हुने होइन ? भन्ने चिन्ता कांग्रेसजनमा छाएको छ । आँफू छैठौं पटक प्रधानमन्त्री बन्ने लोभमा कांग्रेस सभापति देउवाले चितवनलाई फेरी पनि माओवादीको पोल्टामा सुम्पन लाग्नु भएको समाचार मिडियामा आएका छन् । चैत ११ गते बसेको केन्द्रिय समितिको बैठकमा सभापति देउवाले यस्तै आशयको भनाई राखेको समाचार आएको छ । यदी यो समाचार सत्य हो भने यस पटक नेपाली कांग्रेसका कार्यकर्ता तथा मतदाता अवश्य पनि चुप लागेर बस्ने छैनन् । अब पनि शेरबहादुर मल्ल र शान्तकुमार मल्लको प्रेत चितवनमा नघुमोस् ।

त्यसो त गत फागुन २६ गते वीरगन्जमा आयोजित कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा कांग्रेस सभापति देउवाले भन्नु भएको थियो – ‘हामीले अहिले गठबन्धनको सरकार हुँदा मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि गठबन्धनको सरकार बनाएर रहिरहन सक्छौँ । अहिलेको संविधानअनुसार कुनै पार्टीले एक्लै बहुमत ल्याउन सक्दैन । कसै न कसै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ ।’ चुनावी तालमेलका मामिलामा कांग्रेस भित्र मतान्तर देखिए पनि सभापति देउवा भने विगतदेखि नै स्पष्ट हुनुहुन्छ । देउवाले भन्ने गर्नु भएको छ –‘ तालमेल भयो भने गत निर्वाचनमा हामीले जितेका ठाउँ ढुक्क सँग जित्छौं , साधन र स्रोत खासै खर्च गर्नु पर्दैन , त्यो साधन र स्रोत विगतमा एमालेले जितेका ठाउँमा प्रयोग गर्न सकिन्छ , विगतमा एमालेले जितेका ठाउँमा चुनाव जित्न कांग्रेसलाई अन्यपार्टीको सहयोग चाहिन्छ । ’
नेपाली कांग्रेस केवल केही नेताको सत्ता स्वार्थका लागि मात्रै स्थापना भएको पार्टी हो भने सभापति देउवाको भनाई ठिकै होला । तर नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादको विचार दर्शनलाई कार्यान्वयन गर्न स्थापना भएको पार्टी हो भने सभापति देउवा शत प्रतिशत गलत बाटोमा हुनुहुन्छ । दुई– चार दर्जन व्याक्तिहरुले सत्तामा पुगेर मोजमस्ती गरुन भन्ने उद्देस्यले नेपाली कांग्रेस स्थापना भएको कदापी होइन । यस्ता सत्ता स्वार्थीहरुको यो जमातलाई कसरी ठेगान लगाउनुपर्छ ? भन्ने कुरा कांग्रेसका कार्यकर्ता तथा मतदाताले मज्जाले जानेका छन् ।
वि पि कोइरालाको आदर्श र नीति के हो भन्ने कुरा सभापति देउवाले कान र दिमाग खोलेर बुझ्नोस् । नेपाली काँग्रेसले आफ्नो नीति र सिध्दान्तमा अडेर राष्ट्रिय एकता र मेलमिलाप गर्ने हो तर गठवन्धन होइन । निर्वाचन भनेको तपाईंको नीतिको पक्षमा कति जन समर्थन छ भनि जाँच्ने कसी हो । खाली सत्ता र स्वार्थ होइन । चुनावमा हारजित हुन्छ प्रजातन्त्रको प्रक्रिया हो । उम्मेदवार जन प्रिय छान्नोस, धन प्रिय होइन ।

कांग्रेसीजनहरुले रूख बाहेक अन्त मतदान गर्नु दुर्भाग्य हुनेछ । नेतृत्वले जे गरे गरोस तर रूख भन्दा अन्त मतदान गरीदैन भन्ने जमात कांग्रेस भित्र सानो छैन । कम्युनिष्टहरु सँग सधै चुनावी तालमेल नेपाली कांग्रेसको सिद्धान्त होइन । यो म धरानकी मनिाता घिमिरे मात्रैको कुरा होइन म जस्ता मेचीदेखि कालीसम्मका लाखौ निष्ठावान कांग्रेसीहरूको मनको कुरा हो । भन्ने बेलामा कांग्रेस हुँ भन्ने भोट चाँहि हसिया हथौंडा र अन्त हाल्ने ? हैट यो कुरो सच्चा कांग्रेसजनको मनले मान्दैन । कांग्रेसले कम्युनिष्टलाई भोट हाल्ने तर कम्युनिष्टहरू कांग्रेसलाई भोट नहाल्ने यहि नै हो बिगत । किनकी गत स्थानीय निर्वाचनमो पोखरा महानगर पालिकामा माओवादीले कांग्रेसका उमेदरवारलाई मत हाल्ने गरी तालमेल भएको होइन ? खोइ त भोट हालेका ? त्यतिबेला माओवादीले पोखरामा तालमेल कांग्रेस सँग गर्ने तर भोट एमालेलाई हालेका होइनन् ?

चुनावी तालमेल बुहदलीय चरित्र हो या निर्दलिय संस्कार ? भन्ने प्रश्न यतिबेला निकै पेचिलो हुँदै गएको छ । राजनीतिकदलहरुको स्थापना वा गठन निश्चित विचार , सिद्धान्त र नीति तथा कार्यक्रमका आधारमा हुन्छ । राजनीतिकदलहरु जनता कहाँ भोट माग्न जाने भनेको विचार , सिद्धान्त र नीति तथा कार्यक्रमका आधारमा हो । एउटा पार्टीले अर्को पार्टीका लागि भोट माग्नु बहुदलीय लोकतन्त्रको चरित्र विपरित हो । सत्तास्वार्थ बाहेक अरु स्वार्थहरु समाप्त भएको अवस्थामा मात्रै एउटा पार्टीले अर्को पार्टीका लागि भोट माग्छन् ।
नेपालको सन्दर्भमा हेर्ने हो भने विचार तथा सिद्धान्तका आधारमा चार वटा कित्ताबा पार्टीहरु छन् । एउटा कित्तामा कम्युनिष्ट पार्टीहरु छन् , अर्को कित्तामा नेपाली कांग्रेस छ । तेस्रो कित्तामा राजावादी तथा हिन्दुबादी पार्टीहरु छन् । चौथो कित्तामा जातीय, क्षेत्रीय तथा साम्प्रदायिक पार्टी छन् ।
यी चार वटा कित्ता एक अर्काका विपरित छन् । कम्युनिष्ट पार्टीहरुबीच चुनावी तालमेल हुनुलाई अनौठो मान्न सकिन्न । एउटा कम्युनिष्टले अर्को कम्युनिष्टका लागि भोट माग्नु अस्वभाविक हुन्न । तर कांग्रेसले कम्युनिष्टका लागि र कम्युनिष्टले कांग्रेसका लागि भोट माग्नु भनेको सैद्धान्तिक पतनको चरम नमुना हो । सत्ता स्वर्थका लागि हाम्रो देशका राजनीतिकदलका नेताहरु जे पनि गर्छन् भन्ने उदाहरण हो । यस्तो चरित्रले बहुदलीय लोतन्त्रलाई कसरी समाप्त पार्ला त रु भन्ने प्रश्नको उत्तर कम पेचिलो छैन । दलहरुले गर्न खोजेको चुनावी तालमेललाई दुई हिसाबले हेर्न सकिन्छ । सिद्धान्ततः यस्तो तालमेल सही छैन ।
हरेक दलका आफ्ना विचार र दृष्टिकोण हुन्छन्, ती दलले सञ्चालन गर्ने कार्यक्रम ती दृष्टिकोणबाट निसृत हुन्छन् । चुनावको बेला दलहरुले आफ्ना दृष्टिकोण घोषणापत्रमार्फत सार्वजनिक गर्छन् । दलका दृष्टिकोण विश्वव्यापी विचारधारासँग पनि जोडिएका हुन्छन् । नेपालको सन्दर्भमा दलहरुलाई बामपन्थी र प्रजातान्त्रिक गरी दुई थरी विचारधारामा बाँड्न सकिन्छ । यो हिसाबले एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, माले, नेमकिपा, संयुक्त लगायतका दलहरुले बामपन्थी दृष्टिकोण अंगाल्छन् भने कांग्रेस, राप्रपा, विबेकशील, साझा विवेकशील, मधेसी दललगायतले प्रजातान्त्रिक दृष्टिकोण अंगाल्छन् ।
अंश–अंशमा जाँदा त बाम र प्रजातान्त्रिकभित्रै पनि भिन्नता पाइन्छ तर सोलोडोलो हेर्दा दुई कित्तामा राख्न सकिन्छ । सिद्धान्ततः एक कित्ता अर्को कित्तासँग मिल्नु विजातीय हुन्छ र उनीहरुको वैचारिक दृष्टिकोण लागू गर्न यसले समस्या सिर्जना गर्न सक्छ । त्यसो त दीर्घकालीन मोर्चा निर्माणमा पनि अहिलेका सत्तारुढदलहरुवीचको तालमेल सहयोगी हुनेछैन । अहिलेको अवस्थामा नेपालमा कुनै पनि शक्तिको बहुमत आउने देखिँदैन, त्यस्तो अवस्थामा बहुमतीय सरकार गठनका लागि मोर्चा चाहिन्छ । त्यस्तो मोर्चा कम्तीमा विचारधारासँग मेल खाने भए भोलि दीर्घकालीन सहकार्य गर्दै स्थायी ध्रुवीकरणको दिशामा अघि बढ्ने थियो । कांग्रेस र कम्युनिष्टबचिको चुनावी तालमेलले यो दिशामा अघि बढ्न सहयोग गर्दैन ।
सिद्धान्ततः विजातीय तालमेल गलत भए पनि व्यवहारतः यसले केही फाइदा पनि पुग्ने देखिन्छ । विभिन्न मोर्चा बनाएर चुनावमा जाँदा कुनै पनि शक्ति बाहिर रहने भएनन्, यो सकारात्मक पक्ष हो । जहाँ जुन शक्ति बलियो छ, त्यसका विरुद्ध कमजोरहरुले तालमेल गर्दा परिणाम मिश्रित आउनेछ, यसले स्थानीय सरकार सञ्चालनमा फाइदा नै पुग्नेछ । आजको दिनमा के देखिन्छ भने स्थानीय, प्रदेश र संघीय सरकारमा कुनै पनि दलले एकल बहुमत ल्याउन सम्भव छैन । यस्तो अवस्थामा सबै पक्षको सहभागिता सुनिश्चित गर्न तालमेलले सहमतीय वातावरण निर्माण गर्नेछ । तर, सबै पक्ष सरकारमा जाँदा जनताले प्रभावशाली प्रतिपक्ष पाउने छैनन् ।
त्यस्तो अवस्थामा स्थानीय सरकारले जे–जस्ता जनविरोधी निर्णय गरे पनि जनताले सहनुपर्ने र कुनै दलले विरोध नगर्ने स्थिति आउँछ । यसले दलहरुप्रतिको अविश्वास नै बढाउनेछ ।

राजनीतिक दल निश्चित सिद्धान्त, नीति र कार्यक्रमका आधारमा सञ्चालित हुन्छन् । त्यसको उद्देश्य र गन्तव्य हुन्छ । नेपालका राजनीतिक दलहरूले पनि आफ्ना विधान, घोषणा र कार्यक्रममा सिद्धान्त र विचारबारे उल्लेख गरेका छन् । तर, धेरैजसो व्यवहारमा त्यसको औचित्य पुष्टि गरेकोे देखिन्न । राजनीतिकदलका नेताहरुले सत्ता, कुर्सी, अवसर र निहित स्वार्थ बाहेक दायाँ बायाँ देख्न छाडेका छन् । पद, शक्ति र सत्ताका लागि जुनसुकै वेला, जोसुकैले जोसँग पनि गठजोड गर्नु दलका शीर्ष नेताको चरित्र नै बनेको छ । दलका सिद्धान्त, घोषणा र नीतिमा ‘शत्रु’ र प्रमुख प्रतिद्वन्द्वी भनिएकासँग समेत सरकारमा भागबन्डा, चुनावी तालमेल र साँठगाँठ गर्न रत्तिभर नहिच्किचाउने प्रवृत्ति सर्वत्र छ ।
राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमान र अखण्डताजस्ता विषयमा फरक दृष्टिकोण भएकासँग समेत सहजै साँठगाँठ र सत्ता साझेदारी गर्ने निहित स्वार्थबाट निर्देशित कुरूप राजनीति सायद नेपाली राजनीतिवृत्तको ऐंजेरु नै हो । सिद्धान्त वा विचार केवल जनता र कार्यकर्तालाई अलमल्याएर तिनको साथ र समर्थन पाइरहनका लागि गरिने अभ्यासजस्ता मात्र हुन थालेका छन् । यो लोकतन्त्रका लागि अनिष्टकारी हो ।