१६ चैत, बलेवा । बागलुङको जैमिनी नगरपालिकाले सबै टोलमा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरका केही टोलमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेर नगरले सर्वसाधारणको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पु¥याइएको हो । स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका गाउँका लागि स्वास्थ्य सेवा प्रदान गर्ने गरी एकैपटक दुईवटा केन्द्र सञ्चालनमा ल्याइएको शाखाका प्रमुख गोविन्द आचार्यले बताए । वडा नम्वर –८ छिस्तीको मर्नास र वडा नं. १० राङ्खानीको डाँडाखानीमा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको आचार्यले जानकारी दिए ।
केन्द्र सञ्चालनमा आएसँगै नगरका सबै गाउँमा आधारभूत तहको स्वास्थ्य सेवा घरदैलोमा पुगेको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । जैमिनीमा एक प्राथमिक स्वास्थ्य केन्द्र, आठ वटा स्वास्थ्य चौकी र चार सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएका छन् ।
“हामीले स्थानीय स्रोतबाट एक घण्टाभन्दा टाढाबाट प्राथमिक स्वास्थ्य सेवाका लागि पुग्नुपर्ने ठाउँमा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएका हौँ”, आचार्यले भने, “अब कोही पनि सामान्य उपचारको लागि टाढा पुग्नुपर्ने बाध्यता छैन ।” एक स्वास्थ्य सहायक र एक अनमीले सेवा दिने गरी सञ्चालन भएका स्वास्थ्य केन्द्रबाट स्वास्थ्य चौकीमा प्राप्त हुने सबै औषधि उपचार प्रदान गरिने उेनले बताए ।
“प्रयोगशाला पनि विस्तार हुन्छ, पहिले कर्मचारीको व्यवस्थापन गरेर मात्रै हामी सेवा विस्तारमा लाग्छौं”, उनले भने, “नगरको आन्तरिक स्रोतले मात्रै पुग्दैन सङ्घीय सरकारले पनि ध्यान दिनुपर्छ ।” स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख इन्द्रराज पौडेलले नजिकैको सरकारले जनताका समस्याको सम्बोधन गर्दै गएको बताए । उनले शिक्षा, स्वास्थ्य, खानेपानी र सडक जस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्ने चरणमा रहेको बताए । राङ्खानी र छिस्तीमा यसअघि स्वास्थ्य चौकी सञ्चालनमा थिए । वडा नं ७ को जैदी र वडा नं ३ को नेपानेमा यसअघि नै सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा थिए ।