१६ चैत, गलेश्वर । मगर समुदायको बाक्लो बसोबास भएको जिल्लामा पनि खाम भाषा लोप हुँदै गएको छ ।
खाम भाषाको संरक्षणको अभाव तथा पछिल्लो समयमा मगर समुदायका युवा पुस्ताले परम्परागत खाम भाषा कम बोल्ने गरेका कारण यो भाषा त्रमशः लोप हुँदै गएको हो ।
धौलागिरि क्षेत्रका म्याग्दी, बागलुङ र पर्वत जिल्लामा मगर समुदायको बाक्लो उपस्थिति रहेको छ । यी जिल्लामा मगर समुदायको बाक्लो उपस्थिति भएपनि आफ्नो मौलिक भाषा र संस्कृतिको प्रवद्र्धनमा उनीहरु गम्भीर नहुँदा खाम भाषा नै सङ्कटमा पर्न गएको बताइएको छ ।
यो भाषा बोल्ने ज्येष्ठ नागरिकको मृत्यु हुँदै गएको र नयाँ पुस्तामा यो भाषा स्थानान्तरण नहुँदा लोप हुँदै गएको मगर समुदायका अगुवा बताउँछन् । म्याग्दीका अधिकांश मगर समुदायका व्यक्तिले अलिअलि मगर ढुँट बोल्ने र बुझ्ने भए पनि पुख्र्यौली खाम भाषा भने लिपिको अभावमा बोल्न र बुझ्न नसकिएको उनीहरुको भनाइ छ ।
मगर समुदायका तीन वटा भाषिका (भाषा) छन् । गुल्मी जिल्लाको रिडी पश्चिम भाग दाङ हुँदै कर्णाली प्रदेशसम्म बोलिने १८ मगरातको भाषा खाम भाषिका खलकको हो भने रिडीको पूर्वी भागमा बोलिने १२ मगरातको मैढुँट भाषिका हो । त्यसैगरी सुदूरपश्चिम क्षेत्रमा बोलिने (काईकेल) भाषा मगर समुदायका प्रमुख भाषिका हुन् । मगर समुदायका यी तीनवटै भाषा (भाषिका) बोल्ने मानिसको सङ्ख्या अत्यन्त कम रहेको नेपाल मगर सङ्घ म्याग्दीकी अध्यक्ष डकमाया पाइजाले बताए । उनका अनुसार सो समुदायका ज्येष्ठ नागरिकमा भाषाको ज्ञान भए पनि युवा पुस्ताले यसमा चासो नदिँदा समस्या देखिएको हो ।
लिपीको अभावमा युवा पुस्ताले खाम भाषा सिक्न ध्यान नदिँदा अहिले सो भाषा नै गाउँ समाजबाट पूरै लोप हुने अवस्थामा पुगेको मगर समुदायका अगुवा बताउँछन् । परम्परा बचाउन भाषाको ठूलो काम हुने भन्दै पछिल्लो समय मगर समुदायको कलासंस्कृति, वेषभूषा पनि कतै हराउँछ की भन्ने प्रश्न उब्जिएको देखिन्छ । मगर महिलाले लगाउने गुन्यू चोलो, पुरुषले लगाउने पहिरन मेला महोत्सव र चाडपर्वमा मात्र सीमित भएको स्थानीयवासी देउसरा पुनले बताए ।
पछिल्लो समय आधुनिकताले गर्दा मगर समुदायका संस्कार संस्कृति विस्तारै हराउन थालेका छन् । म्याग्दीका विभिन्न क्षेत्रका मगर समुदायले बोलिने खाम भाषा नेपाली तथा खस भाषाको चेपुवामा परेका कारण लोपोन्मुख अवस्थामा पुगेको भन्दै उनले त्यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताए ।
नयाँ पुस्ताले अध्ययन र रोजगारीका लागि देशका विभिन्न सहरलगायत विदेशिने गरेका छन् । त्यहाँबाट आफ्नो गाउँघर फर्किएपछि उनीहरु नेपाली भाषामै कुराकानी गर्न रुचाउने हुँदा खाम भाषा सङ्कटमा पर्दै गइरहेको मगर भाषाका अध्येता इन्द्रबहादुर आलेले बताए । विद्यालयमा हुने पठनपाठनदेखि सबै सरकारी कामकाजसमेत नेपाली भाषामा हुँदा खाम भाषा सङ्कटमा पर्दै गइरहेको आलेको भनाइ छ । अठार मगरातअन्तर्गत बोलिने यो भाषा म्याग्दी र बागलुङका विभिन्न ठाउँमा बोल्ने गरिन्थ्यो ।
राज्यको प्रष्ट नीति नहुँदा पुर्खौँदेखि बोलिँदै आएको खाम भाषा र मगर संस्कृति सङ्कटमा पर्दै गएकाले त्यसको संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने मगर समुदायका अगुवाले बताएका छन् । त्यहाँका स्थानीय तहले मगर भाषाको संरक्षण गर्न र नयाँ पुस्तालाई प्रशिक्षण प्रदान गर्नका लागि गुरुयोजना बनाउनुपर्ने आवश्यकता देखिएको मगर भाषाका अध्येता आलेले बताए । “यस क्षेत्रमा मगर समुदायको बाक्लो बसोबास छ तर यहाँका अधिकांश मगर समुदायमा मगर संस्कृति छैन, मौलिक भाषाका बारेमा पनि ज्ञान छैन, सीमित केही व्यक्तिबाहेक अरु मगर भाषा बोल्न जान्दैनन्”, उनले भने, “मगर भाषा र संस्कृतिको संरक्षणका लागि स्थानीय सरकारले पहलकदमी लिने अपेक्षा गरेका छौँ ।” मगर भाषा र संस्कृतिको संरक्षणका लागि सबै मगर समुदाय जागरुक हुनुपर्ने उनको भनाइ छ ।
लिपिको अभावमा लोप हुँदै गएको खाम भाषा (भाषिका) को अक्षर संरचनाको बारेमा ज्ञान नहुँदा चिमखोला, राम्चे, काफलडाँडालगायत ठाउँमा भेटिएका लिपिको अध्ययन हुन नसकेको नेपाल मगर सङ्घ म्याग्दीले जनाएको छ । नेपाल मगर सङ्घ म्याग्दीकी अध्यक्ष डकमाया पाइजाका अनुसार काफलडाँडाको भीरको पहरोमा कुदिएको लिपि फेला परेको छ । त्यो लिपि ढुँट भाषाको नभएकाले खाम भाषाको हुनसक्ने अनुमान गरिए पनि अझैसम्म पहिचान हुन सकेको छैन ।
अध्यक्ष पाइजाका अनुसार पहरामा भेटिएको लिपिको अनुसन्धानका लागि नेपाल मगर सङ्घको केन्द्रीय समितिमा पठाइएको भए पनि अनुसन्धानकै क्रममा रहेकाले खाम लिपि नै हो भनेर ठोकुवा गर्नसक्ने अवस्था छैन । काफलडाँडाको भीरको पहरोमा भीर मौरीको मह काढ्नेहरुले ठूलाठूला चट्टानमा केही कुदिएको देखे पछि मगर समुदायको अगुवाहरु पराङ (रसी) मा झुण्डिएर ती लिपिको फोटो लिएका थिए ।
त्यसैगरी पुन मगरहरुको कुलदेवताको मन्दिर रहेको राम्चेको नौकुने ढुङ्गामा र उत्तरी म्याग्दीको चिमखोलाको पहरामा पनि पुरानो लिपि भेटिएको बताइएको छ । तर ती लिपिको व्यापकरुपमा अध्ययन र अनुसन्धान भने हुन सकेको छैन । म्याग्दीमा मगर ढुँट भाषाको अध्ययन र अनुसन्धानका लागि निकै प्रयास गरिएको भए पनि खाम भाषाको बारेमा भने मगरसमुदायले खासै पहल गरेको पाइँदैन । ढुँट भाषाको लिपि हुनुका साथै म्याग्दीका विभिन्न विद्यालयमा प्राथमिक तहमा मगर भाषाको अध्ययन गराइँदै आइएको छ ।
मगरभाषाको लिपि कस्तो हुन्छ र कसरी लेखिन्छ, बोलिन्छ भन्ने कुरा यहाँका केही मगर समुदायका व्यक्तिलाई मात्र थाहा छ ।