गण्डकी प्रदेश

योजना बनाउन सिक्दै महिला


१६ चैत, बलेवा । बागलुङ नगरपालिका–१२, अमलाचौरकी खगेश्वरी परियारले नगरपालिकाबाट विनियोजन हुने योजनाको सम्झौतादेखि फरफारकसम्मका प्रक्रियाको विषयमा पहिलोपटक जानकारी पाए ।

स्थानीय सहकारी, समूह र उपभोक्ता समितिमा बसेर काम गरेको भए पनि उनलाई सबै प्रक्रियाका विषयमा जानकारी थिएन । गाउँमा प्रक्रिया जानेको मान्छे खोजेर कागजी प्रक्रिया पूरा गरी केही काम गरेकी उनी अब भने प्रस्ताव बनाउनेदेखि योजना माग, सम्झौता र भुक्तानी तथा फरफारकसम्मका काम आफैले गर्ने बताउछन् । नगरपालिकामा पटक–पटक आउँदा पनि कागज नमिलेका कारण फर्किनुपरेको नमिठो अनुभव अब उनले गर्नुपर्ने छैन ।

बागलुङ–९, तित्याङकी उमा खड्का स्वास्थ्य स्वयंसेविका छन् । गाउँमा हुने विकासका काममा खड्का पनि सहभागी हुने गरेका छन् । उनले कहिले उपभोक्ता समितिको पदाधिकारी हुने त कहिले सदस्य मात्रै भएर पनि काम गरे। उनलाई पनि काम कसरी हुन्छन्, आफूलाई लागेका काम गर्न योजना कसरी माग्ने भन्ने जानकारी थिएन ।

नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखाले यस पटक सबै वडाका अगुवा महिलालाई क्षमता अभिवृद्धि तालिम दियो । उपभोक्ता समिति तथा समूहमा पदाधिकारी रहेका महिलाका लागि आयोजना गरिएको तालिमबाट महिला उत्साहित छन् । “सधैँ गरेको तर, मेसो नपाएको विषयमा छर्लंगै भयो, अब काम गर्न सजिलो हुन्छ”, खगेश्वरीले भने, “अब त महिलाको विकासका लागि योजना बनाएर माग्छौँ, कसैलाई काम लगाइदैन आफैँ गर्न सकिन्छ ।”

नगरपालिकाले १४ वडाका महिलालाई दुई दिन लगाएर तालिम दिएको हो । वडा नं १ देखि ७ सम्म पहिलो दिन र वडा नं ८ देखि १४ सम्म दोस्रो दिन तालिम सञ्चालन भएको शाखा प्रमुख सरस्वती रेग्मीले बताए । तालिममा हरेक वडाबाट पाँच जनाका दरले महिला सहभागी थिए ।

“प्रतिनिधिमूलक हिसाबमा सहभागी महिलालाई गाउँमा पुगेर अरुलाई सिकाउनुस् भनेका छौँ”, नगरप्रमुख जनकराज पौडेलले भने, “यो सुरुआतले योजनाको कार्यान्वयनमा धेरै सहयोग गर्छ ।” उनले प्रक्रिया बुझेर काम गर्दा धेरै दुःख नहुने र उपभोक्त पनि सन्तुष्ट हुने बताए।

तालिममा सङ्घ संस्थाको दर्ता तथा नवीकरण, अत्यावश्यक कामका प्रक्रिया र आवश्यक कागजात तथा उपभोक्ता समितिको गठन, विनियोजित बजेटको कार्यान्वयन र भुक्तानी तथा फरफारकका बेला आवश्यक कागजातका विषयमा प्रशिक्षण दिइएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, योजना अधिकृत युक्तप्रसाद सुवेदी र शाखा प्रमुख सरस्वती रेग्मीले तालिमको सहजीकरण गरेका थिए। दुई दिनमा ७० महिला तालिममा सहभागी थिए ।