२० चैत, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताएका छन् ।
नेपाली कांग्रेस देवघाट गाउँ कार्यसमितिले बनिबारआयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैशाख ३० गते हुने निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुने जिकिर गरे। वरिष्ठ नेता पौडेलले निर्वाचनमा कांग्रेसका सबै उम्मेदवारले विजयी हासिल गर्नुपर्नेमा जोड दिँदै कांग्रेसबीच एकता र सहकार्य आवश्यक रहेको बताए ।
कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले देवघाटका सबै वडामा कांग्रेसका उम्मेदवारले जित्नुपर्ने बताए । उनले भने, “सबै वडामा कांग्रेसले जित्नुपर्छ, टिकटमा दाबी सबैको हुन्छ, टिकट एउटाले पाएपछि सबै एकढिक्का हुनुपर्छ ।” कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, जिल्ला सभापति जितप्रकाश आले लगायतले सम्बोधन गरेका थिए ।





