२१ चैत, रोल्पा । रोल्पाका घरेलु तथा लघु उद्यमबाट उत्पादित कृषि उपजले बजार पाउन थालेको छ । कृषिबाट उत्पादित वस्तुको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले जिल्लास्थित घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको महोत्सवका कारण ती उपजले बजार पाउन थालेका हुन् ।महोत्सवमा स्थानीय अल्लोबाट उत्पादित ब्याग, पर्स, सलजस्ता वस्तु विशेष आकर्षणका रुपमा बिक्री वितरण भइरहेका छन् । जिल्ला बाहिरबाट आउनेहरुको आकर्षण यी सामानमा देखिएको महासङ्घका अध्यक्ष मिलन डाँगी बताउछन । महोत्सवमा स्थानीय उत्पादनहरु हँसिया, खुकुरी र फर्निचरका साथै स्थानीय कृषि उपजहरु सुन्तलाको जुस, मह र टिमुर पनि राखिएका छन् । रोल्पाको माडी गाउँपालिकामा उत्पादित मार्बल, थवाङको स्लेट ढुङ्गाले पनि दर्शकको ध्यान खिच्न सफल भएको छ ।
महोत्वसमा खसीबोका पनि राखिएको आयोजकले जनाएको छ । “महोत्सवले स्थानीय उत्पादनलाई प्रचारप्रसार तथा बजारीकरण गर्न निकै सहयोग गरेको देखिन्छ,” अध्यक्ष डाँगी भन्छन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यही चैत १७ गते उद्घाटन गरेका महोत्सव २६ गतेसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक जीतबहादुर महराले बताए ।महोत्सवमा १२८ स्टल राखिएका छन् । निर्वाहमुखी कृषिलाई बजारमुखी बनाउन महोत्सव आयोजना गरिएको आयोजक संस्थाको भनाइ छ । सदरमुकाम लिवाङमा सञ्चालित महोत्सवमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहेको र दैनिक सात हजारभन्दा बढी दर्शकले अवलोकन गरिरहेको महासङ्घको भनाइ छ ।