गण्डकी प्रदेश

क्यान्सरपीडितलाई आर्थिक सहयोग


२२ चैत, गलकोट । लामो समयदेखि स्तन क्यान्सरबाट पीडित बागलुङ नगरपालिका–८ का मीनाकुमारी हमाललाई रु पाँच लाख सात हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

जापानमा रहेका नेपालीहरुबाट र नेपालमामा समेत चलाइएको सहयोग सङ्कलन अभियानबाट जुटेको उक्त रकम क्यान्सरपीडित मीना हमालको घरमै पुगेर आज हस्तान्तरण गरिएको हो । आर्थिक रुपमा कमजोर रहेको ५५ वर्षीया मीनाको आर्थिक अभावमै उपचारमा समस्या भएपछि सहयोग सङ्कलन अभियान चलाइएको थियो । 

भरतपुर क्यान्सर अस्पतालमा उनको उपचार भइरहेको भए पनि आर्थिक समस्याले अहिले गाउँमै छन । हमालको उपचारका लागि गलकोटमा जन्मेर जापानमा कर्मथलो बनाएका नेपालीहरुबाट सङ्कलित रु तीन लाख ८१ हजार ८९७ र नेपालमा सङ्कलित रु एक लाख १८ हजार ११० गरी पाँच लाख सात हजार रकम हस्तान्तरण गरिएको छ । 

गलकोट समाज जापानअन्तर्गतको मानवीय सेवा विभागअन्तर्गतका संयोजक रतनसिंह भण्डारी, जापानमै रहेका मीनराज खत्री मिलन, श्याम शर्मा, गीता सुवेदी तथा खरुवा समाजका अध्यक्ष गगन सिंह खत्रीको सक्रियता र समन्वयमा उक्त रकम सङ्कलन गरी पठाइएको थियो । नेपालमा सञ्चालन गरिएको सहयोग अभियानमा गोविन्दप्रसाद शर्मा, शर्मिला मल्ल शर्मा र उजेली खड्का मल्लले सक्रिय रुपमा सहयोग गरेका थिए ।  सहयोग अभियानको स्थानीय संयोजन गलकोट समाज बागलुङका सदस्य ललिता थापा र राज थापाले गरेका थिए । 

उक्त सहयोग रकम बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष जितबहादुर जिसी राजनको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरणपछि बोल्दै वडाध्यक्ष जिसीले माइती गाउँलेहरुको सक्रियतामा सङ्कलन गरिएको रकमले पीडितको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । आर्थिक सहयोग पाएसँगै मीना हमाल पुनः भरतपुर क्यान्सर अस्पताल जाने तयारीमा रहेका छन ।