२३ चैत, खलङ्गा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जुम्लामा १४ राजनीतिक दल प्रतिस्पर्धामा उत्रिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ सहित आठ दलले निर्वाचनका लागि आफ्नो विवरण बुझाएका छन् । सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए।उक्त दलबाहेक अन्य व्यक्तिले स्वतन्त्र रुपमा उम्मेदवारी दिन सक्नेछन् । राष्ट्रिय मान्यता प्राप्तबाहेक आठ दललाई उनीहरुको विधानमा उल्लेख भएअनुरुपको चुनाव चिह्न प्रदान गरिने बताइएकोे छ ।
जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलका रुपमा सक्रिय छन् । कार्यालयका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका नेपाल मजदुर किसान पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त समाज पार्टी, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र राप्रपा नेपाल रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
विसं २०७४ को निर्वाचनमा ५४ हजार ६९४ मतदाता रहेकामा अहिले १३ हजार ५० बढेर ६७ हजार ७४४ मतदाता पुगेको उक्त कार्यालयले जनाएको छ ।
जुम्लामा विपद्बाट मृत्यु भए सात व्यक्तिका परिवारलाई रु १३ लाख राहतस्वरुप उपलब्ध गराइएकोछ । चालु आर्थिक वर्षमा विपद्बाट जिल्लमा सात जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विपद्बाट मृत्यु भएका छ जनाको परिवारलाई जनही दुई लाखका दरले रु १२ लाख र अर्का एक जनालाई रु एक लाख प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले जानकारी दिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको जिल्ला तथा स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण कहिले धेरै वर्षा हुने र कहिले सुक्खा खडेरी हुने गरेकाले विपद्का घटना बढिरहेका छन् । गत कात्तिक १ देखि ३ गतेसम्म आएको बेमौसमी वर्षाले जिल्लाको तिला र तातोपानी गाउँपालिकाका एक हजार ११२ किसानको एक हजार ८७३ खेतबारीमा लगाएको काली मार्सीधानमा क्षति पुगेको थियो ।